Logo

प्रमुख समाचार

अफताबलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध कारबाही माग गर्दै न्याय परिषद्मा उजुरी



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यानसम्बन्धी गम्भीर अभियोगबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा कारबाहीको मागसहित उजुरी दर्ता गरिएको छ।

न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी युवराज पौडेल सफलले न्याय परिषद्मा दर्ता गराएका हुन्। पौडेलले उजुरीमा उल्लेख गरेका छन् कि पीडितलाई अन्याय हुने गरी आदेश दिने यी न्यायाधीशद्वयलाई तत्काल निलम्बन गर्नुपर्छ र उनीहरूका अघिल्ला न्यायिक कार्यहरूको समेत समीक्षा हुनुपर्छ।

उनले अफताब आलमलाई उन्मुक्ति दिने फैसलालाई “न्यायिक विवेक विपरित” भन्दै उच्च अदालतमा भएको आदेशको मिसिल झिकाएर न्यायिक परीक्षण गर्नुपर्ने माग गरेका छन्।

२०६४ को इँटाभट्टा घटनामा जन्मकैदको फैसला उल्ट्याइएको थियो

२०६४ सालको संविधानसभा निर्वाचनको क्रममा अफताब आलममाथि बम बनाउने क्रममा घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएर मारेको आरोप लागेको थियो। उक्त घटनामा २३ जनाको मृत्यु भएको दाबी गरिएको थियो।

२०७६ कात्तिक २९ गते रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उक्त फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो। यही फैसलापछि न्यायाधीशहरूमाथि आलोचना बढ्दै गएको छ।

विवादित फैसला, बढ्दो जनचासो

उच्च अदालतको फैसलापछि विभिन्न तहबाट आलोचना सुरु भएको छ। राजनीतिक र नागरिक समाजमा न्यायालयको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।

अब न्याय परिषद्ले उजुरीबारे के निर्णय लिन्छ भन्ने प्रतीक्षा गरिँदैछ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार २१:५७   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।