नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान व्यवस्था जनतामैत्री नभएको बताएका छन्। जनपत्रकार संगठनले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुराना दलहरूको पश्चगामी सोचले राजनीति प्रतिगमनतर्फ गइरहेको जिकिर गरे।
विप्लवका अनुसार देशमा रवि र बालेनजस्ता नयाँ शक्ति पुराना दलहरूको असफलताबाट जन्मिएका हुन्। “ठूला दलहरू जनतामा स्पष्ट दृष्टिकोणसहित आउन सकेनन्,” उनले भने, “पुरानै लठ्ठी चलाएर अब राजनीति अघि बढ्दैन।”
उनले अहिलेको गणतन्त्रप्रति जनताको असन्तुष्टि भए पनि त्यो गणतन्त्रको दोष नभई बाँकी रहेको सामन्तवादी जरोकै परिणाम भएको बताए। “नेताहरूले भोग गर्ने सुविधा सम्पन्न जीवनशैली नागरिकका दुःखसँग मेल खाँदैन,” उनले भने, “जनताले वास्तविक गणतन्त्रको अनुभूति गरेका छैनन्।”
विप्लवले आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी नीति आवश्यक रहेको भन्दै नेपाली किसानको उत्पादन बजार नपाउने, आयातित वस्तुले बजार छोप्ने अवस्थालाई चिन्ताजनक बताए। “एक लाख ५६ हजार मध्यम वर्गीय व्यवसायी टाट पल्टिँदै छन्,” उनले चेतावनी दिए, “यो अर्थतन्त्रको भ्रष्टीकरण हो। सबै चोचोमोचो मिलाएर खाएका छन्।”
पोखरा विमानस्थलमा भएको भनिएको १० अर्बको भ्रष्टाचारप्रति पनि तीन प्रमुख दल मौन रहेको भन्दै उनले प्रश्न गरे। प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई भ्रमपूर्ण भन्दै विप्लवले आत्मनिर्भर उत्पादन र अर्थतन्त्रलाई मूल नारा बनाउनुपर्ने बताए।
उनले अब समाजवादी शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औंल्याउँदै समाजवादमाथि खुला बहस गर्नुपर्ने बताए। “चिनियाँ वा रूसी समाजवाद नेपालमा मेल खाँदैन,” उनले स्पष्ट पारे, “हामीलाई व्यावहारिक, नेपाली मौलिकतामा आधारित समाजवाद चाहिन्छ। द्वन्द्वात्मक भौतिकवाद अधुरो छ, पुनर्विचार जरुरी छ।”




















प्रतिक्रिया