काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरादरबार प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै त्यसबारे छानबिन आफूबाटै सुरु गर्न प्रस्ताव गरेका छन्। शनिबार विदुरमा आयोजित प्रेस सेन्टर नुवाकोटको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि गिरिबन्धु टी स्टेट प्रकरणमा त्यस्तै छानबिन अघि बढाउन आग्रह गरे।
प्रचण्डले आफूलाई शेरादरबार प्रकरणमा नियोजित रूपमा फसाउने प्रयास भइरहेको आरोप लगाए। “मैले संसदमै प्रधानमन्त्रीज्यूलाई शेरादरबार प्रकरणमा तुरुन्त छानबिन थाल्न आग्रह गरिसकेको छु,” उनले भने, “छानबिन मेरो नामबाटै सुरु होस् भनेको पनि हो, तर संलग्नता नभएकाले त्यो गर्न आँट गरेनन्।”
उनले प्रधानमन्त्री ओलीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप पनि लगाए। “मजस्तै उहाँले पनि गिरिबन्धु टी स्टेट प्रकरणमा आफैंद्वारा छानबिन सुरु गर्ने घोषणा किन नगर्ने?” भन्दै उनले प्रश्न उठाए।
प्रचण्डले लडाकु शिविरको विषय पनि बेलाबेला उठाउने गरिएकोप्रति आपत्ति जनाउँदै त्यसबारे पनि छानबिन गर्न आफूहरू तयार रहेको बताए। “शान्ति प्रक्रिया व्यवस्थापनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएका थिए, अर्थमन्त्री डा. रामशरण महतले रकम निकासा गरेका थिए,” भन्दै उनले राज्यको निर्णयलाई माओवादीमाथि दोषारोपण गरेर जनताको भ्रममा पार्ने प्रयास भइरहेको टिप्पणी गरे।
उनले माओवादीप्रति जनतामा सकारात्मक धारणा बढ्दै जाँदा यसरी पुराना मुद्दा कोट्याउने गरिएको समेत आरोप लगाए।




















प्रतिक्रिया