काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले भिजिट भिसा र नक्कली भुटानी शरणार्थी प्रकरणलाई संयोग नभई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको “मुख्य कर्म” भनेका छन् । छथर गाउँपालिकाको पार्टी अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धनसहितको वर्तमान सरकारलाई ‘नालायक’को संज्ञा दिए ।
किरातीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीले नेपाली नागरिकको शिर विश्वसमक्ष झुकाएको आरोप लगाए । “आजको सरकारले जनताको पीडा बुझ्ने होइन, बेच्ने काम गरिरहेको छ,” उनले भने, “भिजिट भिसाको नाममा मान्छे बेच्ने यन्त्र बनेको यो सरकार अब जनताले पनि सहन सक्दैन ।”
उनले गृहमन्त्री रमेश लेखकको राजीनामा र प्रधानमन्त्री ओलीले संसद्मा उभिएर जवाफ नदिएसम्म संसद सञ्चालनमा सहयोग नहुने स्पष्ट पारे । “उच्चस्तरीय छानबिन आयोग गठन गरियोस्, दोषी उम्कन नपाऊन् । नत्र हामी संसद चल्न दिँदैनौं,” किरातीले चेतावनी दिए ।
किरातीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण र भिजिट भिसा काण्ड कुनै संयोग होइन, योजनाबद्ध रूपमा सत्ता संरक्षित मानव तस्करीको हिस्सा हो । “यो सरकारको नियत र चरित्र दुवै संकास्पद छ। नागरिक बेचेपछि पनि जवाफ नदिने र उल्टो दोष अरूलाई दिने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउँछ,” उनले भने ।
किरातीले सशक्त छानबिन र जिम्मेवार नेतृत्वको माग गर्दै भ्रष्टाचार र मानव तस्करीविरुद्ध माओवादी केन्द्रको आन्दोलनलाई थप तीव्र बनाइने बताए ।




















प्रतिक्रिया