काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिका इमान, निष्ठा र क्षमताका आधारमा सञ्चालन भएमा कहिल्यै बदनाम नहुने बताएका छन् । शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले न्यायालयको मजबूतीमा कर्मचारीको भूमिका अहम् रहेको उल्लेख गरे ।
राउतले न्यायपालिकामा उठेका प्रश्नहरूको समाधानका लागि आफू सधैं प्रयासरत रहेको बताउँदै न्यायपालिका मर्यादित, सम्मानित र जनआस्थामा टिक्ने संस्था हुनुपर्नेमा जोड दिए । “तपाईंहरू न्याय सेवामा हुनुहुन्छ । यदि गौरवपूर्ण न्याय सेवा बन्न सकेको छैन भने यसको कारण खोज्न जरुरी छ,” उनले भने ।
उनले देशभरका अदालतहरूको काम, मुद्दा व्यवस्थापन र नतिजा सन्तोषजनक भए पनि कर्मचारीमा पर्याप्त उत्साह भरिन नसकेकोप्रति चिन्ता व्यक्त गरे । “प्रेरणा दिने तालिम, अध्ययन, विदेश भ्रमण जस्ता विषयमा प्रक्रिया अगाडि बढिसकेको छ,” भन्दै उनले चाँडै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।
प्रधानन्यायाधीश राउतले अधिकृतहरूको योग्यता र क्षमतालाई सही रूपमा उपयोग गर्न नसकिएको कारण लक्ष्य प्राप्तिमा बाधा आएको बताए । उनले निष्कर्षमा भने, “यदि हामीले इमान, निष्ठा र क्षमतालाई जोडेर काम गर्न सक्यौं भने न्यायपालिका कहिल्यै बदनाम हुँदैन ।”
उनले न्याय सेवामा रहेका कर्मचारीलाई व्यक्तिगत लाभमा मात्र सीमित नहुन आग्रह गर्दै विधिको शासन र न्यायिक गरिमाको संरक्षणमा अग्रसर रहन अनुरोध गरे। न्यायपालिकामा सुधारको प्रयासलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।




















प्रतिक्रिया