ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको संरचना समावेशी बनाउन राजनीतिक दलहरू आफैंभित्र समावेशी हुन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीतिक दलको भूमिका’ विषयक अन्तरसंवाद सानेपाको पार्टी कार्यालयमा आयोजना गरेको थियो।
कार्यक्रममा देउवाले दलित समुदायमाथि निरङ्कुश शासनकालमा भएको भेदभावविरुद्ध आवाज उठाउने पहिलो पार्टी कांग्रेस नै भएको दाबी गरे। उनले २००७ सालको क्रान्तिमा कांग्रेसले ‘जातपात मान्दैनौं, सँगै बसौं, सँगै खाऔं’ भन्ने नारा उठाएको स्मरण गरे।
उनले भने, “नेपालजस्तो समाजमा धर्म र परम्पराका नाममा हजारौं वर्षदेखि चलिआएको छुवाछूत र जातीय विभेदले समाजलाई विकृत बनाएको छ। यस्तो विभेद अन्त्य गर्न २०६३ सालको यही दिन संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो, जुन सामाजिक रूपान्तरणका लागि ऐतिहासिक पाइला हो।”
सभापति देउवाले वर्तमान सरकार विभेदको बाँकी अवशेष अन्त्य गर्न प्रयत्नशील रहेको बताए। साथै उनले नेपाल दलित संघलाई विभेदविरुद्ध बलियो आवाज उठाउन आग्रह गरे।
कार्यक्रममा विभाग प्रमुख लक्ष्मी परियारले छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि आवश्यक कानुनहरू अझै संसदबाट पारित नभएको बताए। लेखक जेबी विश्वकर्माले दलित जनसंख्या १३.४ प्रतिशत रहेको भन्दै उनीहरूको प्रतिनिधित्व र आरक्षण राज्यका सबै तहमा सुनिश्चित हुनुपर्ने माग गरे।




















प्रतिक्रिया