Logo

प्रमुख समाचार

“मैले जलमार्गको कुरा गरेपछि होचा पुल बन्न थाले” : प्रधानमन्त्री ओली



प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले जलमार्गको एजेन्डा उठाएपछि त्यसको बाधा हुने किसिमका संरचना बन्न थालेको गुनासो गरेका छन्। बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले पानीजहाज नछिर्ने होचा होचा पुलहरू बनिरहेको सुनिएको बताए।

“इनल्यान्ड वाटरवेज हाम्रो लागि एकदमै सस्तो र उपयोगी विकल्प हो,” प्रधानमन्त्री ओलीले भने, “तर हामीले त्यसको कुरा उठाउन थालेपछि त डाउनस्ट्रिममा स्टिमर र जहाज नछिर्ने पुल बनाइएको कुरा सुन्न थालेका छौं। हो या होइन भन्ने लागिरहन्छ।”

उनले जलमार्ग नेपालको लागि अब विकल्प नभई आवश्यकता भएको स्पष्ट गर्दै कोसी र नारायणी नदीमा स्टिमर चल्न थालेको दाबी गरे। “मैले पानीजहाजको कुरा गरेपछि नै कोसी र नारायणीमा स्टिमर चलेको हो,” उनले भने, “त्यो देख्दा त मलाई कागजका जहाज बनाएर बाल्टिमा तैरी खेल्नेहरू सम्झना आयो।”

प्रधानमन्त्री ओलीले जलमार्ग विकासको विषयमा छिमेकी मुलुकहरूसँग संवाद बढाउनुपर्ने र त्यसको दीर्घकालीन उपयोगितामाथि ध्यान दिनुपर्ने बताए। उनका अनुसार जल यातायातले व्यापार र ढुवानी लागत कम गर्न सहयोग गर्छ, तर त्यसलाई प्रोत्साहन गर्नुको सट्टा व्यवहारमै अवरोध हुने कार्यहरू भइरहेका छन्।

ओलीले विगतमा आफैंले “पानीजहाज ल्याउँछु” भन्ने अभिव्यक्ति दिएपछि त्यसलाई कतिपयले व्यङ्ग्यको रूपमा लिएका भए पनि अहिले वास्तविकता प्रष्ट हुँदै गएको बताए। “अब त यो सपना होइन, सम्भावना हो,” उनले जोड दिए।

उनको उक्त अभिव्यक्तिले जलमार्ग विकासलाई लिएर नीति निर्माण र भौतिक पूर्वाधारमा आवश्यक समन्वय कति छ भन्नेबारे बहस थप चर्किएको देखिन्छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार २१:२२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।