Logo

प्रमुख समाचार

माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाको प्रचण्डलाई फोन, काठमाडौं फर्किएपछि भेटवार्ता तय



काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः फोन संवाद भएको छ।

नेता देउवाले जनकपुरबाट प्रचण्डलाई फोन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाबारे जिज्ञासा राखेका थिए। उक्त मुद्दा पतञ्जली योगपीठसँग सम्बन्धित ललिता निवास प्रकरणमा दर्ता गरिएको हो।

फोनवार्तामा देउवाले “माधव नेपालविरुद्ध मुद्दा कसरी दर्ता भयो?” भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले भनेका थिए, “तपाईं सत्तापक्षको सबैभन्दा ठुलो दलको नेता हो, तपाईंलाई नै थाहा होला त।” उनले देउवालाई आफू पनि आश्चर्यचकित भएको बताए।

प्रचण्डका अनुसार देउवाको प्रश्नबाट स्पष्ट हुन्छ कि मुद्दा दर्ताको विषयमा कांग्रेस नेतृत्वसँग सल्लाह नभएको हो। उनले यो विषय राजनीतिक प्रतिशोधका आधारमा अघि बढाइएको हुनसक्ने संकेत पनि दिएका छन्।

दुवै नेताबीच आज वा भोलि काठमाडौंमा प्रत्यक्ष भेटवार्ता हुने तयारी भएको छ। भेटमा माधव नेपालमाथि लागेको मुद्दा, संसद्‌को गतिरोध, र सत्ता–प्रतिपक्षबीचको सहकार्यबारे छलफल हुने बताइएको छ।

यस घटनाले सत्तारूढ गठबन्धनभित्रको समन्वय र विश्वासको तहमा पनि प्रश्न उठाएको छ। आगामी राजनीतिक समीकरणमा यसको असर पर्न सक्ने आकलन गरिएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार २३:०२   :  बजे

543
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।