Logo

प्रमुख समाचार

राजावादीहरूको आन्दोलन तुहिइसक्य : कांग्रेस सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजावादीहरूको आन्दोलन तुहिइसकेको दाबी गरेका छन्। उनले पूर्वराजा समर्थकहरूले गर्दै आएको प्रदर्शनलाई अर्थहीन भन्दै त्यसले कुनै राजनीतिक प्रभाव नपार्ने स्पष्ट पारेका छन्।

जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले गणतन्त्रलाई चुनौती दिने प्रकारका आन्दोलनहरू जनताको भावना र संघर्षको अपमान भएको टिप्पणी गरे। उनका अनुसार, “गणतन्त्र जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको प्रणाली हो, यसलाई उल्ट्याउने प्रयास स्वीकार्य हुने छैन।”

पत्रकारको प्रश्नको उत्तर दिँदै देउवाले भने, “देशमा कहाँ छ र राजावादी आन्दोलन? तुहिइसक्यो।” उनले राजसंस्था फर्काउने नारा दिनेहरू अल्पमतमा रहेको र जनताको व्यापक समर्थन नपाउने बताउँदै सो आन्दोलन अब राजनीतिक रुपमा असफल भइसकेको ठहर गरे।

त्यसैगरी, पछिल्लो समय गृहमन्त्री रमेश लेखकविरुद्ध उठाइएको राजीनामाको मागलाई देउवाले तर्कहीन भनेका छन्। उनले प्रतिपक्षी दलहरूलाई संसद् अवरोध नगर्न आग्रह गर्दै संसद्‍मा संवाद र छलफलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

“संसद्‌मा गृहमन्त्रीले आफ्नो पक्ष राख्न पाउनुपर्छ,” देउवाले भने, “राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु असंवैधानिक र अलोकतान्त्रिक हो।”

उनको अभिव्यक्तिले सत्तारूढ दल कांग्रेस राजसंस्थाविरोधी स्पष्ट अडानमा रहेको र संसद् संचालनमा लचिलो धारणा बनाइरहेको सन्देश दिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार ११:०७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।