Logo

प्रमुख समाचार

गृहमन्त्री लेखकलाई देखाएर कांग्रेस–एमालेको गठबन्धन तोड्ने प्रयासमा दाहाल



काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहितका अन्य विपक्षी दलहरूले संसद्को नियमित काममा अवरोध पुर्‍याइरहेका छन्।

विपक्षीहरूले गृहमन्त्री लेखकको निजी सचिवालयका कर्मचारीहरू भ्रष्टाचारमा संलग्न भएको र भिजिट भिसा प्रकरणमा समेत संलग्न भएकाले मन्त्री आफैंलाई त्यसको जानकारी नहुने कुरै नहुने भन्दै उनको राजीनामा र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएका छन्।

गत केही दिनअघि गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा कर्मचारीहरूले गरेको बदमासीको जिम्मा लिन नसक्ने अभिव्यक्ति दिएका थिए भने नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि गृह मन्त्रीले राजीनामा नदिनुपर्ने निर्णय गरेको थियो। तर, असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन र भ्रष्टाचार नियन्त्रण गर्ने सहमति भएपनि ११ महिनाभन्दा बढी समय बित्दा यी कामहरू अघि बढ्न सकेका छैनन्।

भिजिट भिसा ठगी काण्ड नयाँ कुरा होइन, विगतमा पनि यसबारे समाचार प्रकाशन भइरहे पनि सरकारले यसलाई गम्भीर रूपमा नलिएको आलोचना भइरहेको छ। विरोधी दलहरूले भने गृहमन्त्रीहरूकै संरक्षणमा यस्तो ठगी भइरहेकाले यसलाई छानबिन गर्नुपर्ने बताएका छन्। तर सरकारका अनुसार कर्मचारीहरूको बदमासीमा मन्त्री दोषी होइनन् र अख्तियार अनुसन्धान गरिरहेको छ भने गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैन।

२०६४ सालदेखि गृहमन्त्री बनेका व्यक्तिहरूमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्न विपक्षी दलहरू जोड दिइरहेका छन्। साथै, गृहमन्त्री लेखकले छानबिन सकिनसकेको अवस्थामा पद छोड्नुपर्ने माग पनि गरिएको छ।

सरकारले भने तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचारमा मुछिए पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएको तथ्य स्मरण गराएको छ। २०६४ पछि कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण र रमेश लेखक गृहमन्त्री भएका छन् भने एमालेबाट भीम रावल र वामदेव गौतम दुई पटक गृहमन्त्री बनेका थिए। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा र शक्ति बस्नेत गृहमन्त्री रहेका छन्।

खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा पूर्व मुख्य सचिव माधव घिमिरे गृहमन्त्री थिए, तर दुर्घटनामा निधन भए। रास्वपाका सभापति रवि लामिछाने पनि दुई पटक गृहमन्त्री बनेका थिए र हाल सहकारी ठगी प्रकरणमा जेलमै छन्।

संघीय संसदमा विपक्षीहरूको अवरोधका कारण महत्वपूर्ण विधेयकहरू पारित हुन सकेका छैनन्। भ्रष्टाचार नियन्त्रण र कर्मचारीसम्बन्धी विधेयकहरू समेत कार्यान्वयनमा बाधा छन्।

माओवादी केन्द्रले कांग्रेस–एमालेको गठबन्धन तोड्न गृहमन्त्री लेखकलाई मुद्दा बनाएर दबाब दिन खोजिरहेको समाचार ‘अभियान साप्ताहिक’ले उल्लेख गरेको छ। माओवादी नेताहरू पनि भ्रष्टाचारमा मुछिएपनि पार्टीले राजीनामा गराएको छैन। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा जारी गरिएको नयाँ भिजिट भिसा निर्देशिकाले ठगी बढाएको आरोप लगाइएको छ।

यसले सरकारभित्र देखिएको विवाद र गठबन्धनमा आउने चूनौतीको चित्र स्पष्ट पारेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार २३:२०   :  बजे

555
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।