काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङमार्फत भिजिट भिसामा विदेशी उडाउने काण्डले नेपालको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। चार महिनाको अवधिमा करिब २०० जना भारतीय शंकास्पद ‘शिख’, बंगलादेशी र अन्य विदेशी तेस्रो मुलुक पठाइएको खुलासासँगै यो विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।
गृहमन्त्री रमेश लेखकको कार्यकालमा विवादास्पद सहसचिव तीर्थराज भट्टराईलाई अध्यागमन विभागको नेतृत्व दिइएपछि यो प्रकरण झनै गम्भीर बनेको छ। पूर्व सहसचिव सुरेश पन्थीलाई चार महिनामै हटाई भट्टराईलाई ल्याइएको कारण पनि शंकाको घेरामा परेको छ।
नेपालको अध्यागमन प्रणालीमा २०७६ सालदेखि ‘नेपाली पोर्ट’ नामक सफ्टवेयरमार्फत विदेशी आगमन र प्रस्थानको विवरण, फिंगरप्रिन्ट, बायोमेट्रिक, राहदानी तथा इन्टरपोल सूचीजस्ता विवरण सुरक्षित गरिन्छ। तर, यही प्रणालीलाई बाइपास गर्दै ट्राभल एजेन्सी, सुरक्षाकर्मी र अध्यागमन कर्मचारीको मिलेमतोमा विदेशीलाई तेस्रो मुलुक पठाइँदा आतंककारीसमेत नेपालबाट उडाइएको आशंका गहिरिँदै गएको छ।
दलालमार्फत ठूला घूस असुली गर्दै सेटिङमा विदेशी उडाउने गिरोह सक्रिय रहेको पुष्टि अनुसन्धानमा संलग्न एक अधिकारीले गरेका छन्। गृहमन्त्रालय र एयरपोर्ट सुरक्षा संयन्त्रभित्रको मिलेमतोबारे छानबिन नहुँदा अन्तर्राष्ट्रिय सुरक्षामा समेत प्रभाव पर्न थालेको छ।
यसैबीच, भारत, अमेरिका र युरोपियन देशहरूले पनि अनुसन्धान थालेका छन्। भारतको कुख्यात अपराधी लरेन्स विश्नोई समूहका सदस्य नेपाल हुँदै मलेसिया वा कतार पुगेको खबरले भारतीय सुरक्षा एजेन्सीलाई सक्रिय बनाएको छ।
सत्तारूढ दलहरू कांग्रेस र एमाले नेतृत्वको सरकारले यो विषयमा चासो नदेखाएमा अन्तर्राष्ट्रिय अविश्वास र कूटनीतिक दबाब झनै बढ्ने देखिन्छ। न्यायिक छानबिनको माग अब जनआवश्यकता मात्र नभई राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय विश्वसनीयताको विषय बनेको छ।




















प्रतिक्रिया