काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो। रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो।
रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।
अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।
बानियाँले लिए मुख्यमन्त्री लामासँग बदला
नेपाली कांग्रेसको बागमती प्रदेश सभापति इन्द्र बानियाँले संसदीय दलका त्यतिबेलाका प्रतिस्पर्धी बहादुर सिंह लामासंग तीन बर्षपछि बदला लिएका छन् ।
२०७९ मा आफुलालाई संसदीय दलको नेतामा पराजित गर्दै संसदीय दलको नेतामा निर्बाचित लामालाई तीन बर्षपछि संसदीय दलकै निर्बाचनमा पराजित गरेर बानियाँले बदला लिएका हुन्।
बुधबार हेटौंडामा भएको निर्वाचनमा एक मत बदर हुँदा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरेका थिए । यो निर्बाचनमा लामा पराजित भएसँगै बाँनिया अब नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता बनेका छन् ।
बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।
लामालाई हटाएर आफू मुख्यमन्त्री बन्न बानियाँले उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गराएर राजीनामाका लागि दबाब बढाएका हुन् । दलका नेतामा पराजित भएपछि लामामाथि राजीनामा गर्न थप दबाब परेको छ ।
तर, लामाले भने आफू संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभाको सदस्यको हैसियतले मुख्यमन्त्री भएकाले दलको नेताबाट हट्दैमा राजीनामा दिनु नपर्ने तर्क गरेका छन् ।
संसदीय दलको नेता पद गुमाइसकेको अवस्थामा मुख्यमन्त्री लामामाथि नैतिकताको प्रश्न भने उठेको छ सामान्यतया संसदीय दलको नेता नै नेतृत्वमा पुग्ने अभ्यास रहँदै आएका कारण संसदीय दलमै अल्पमतमा रहेको व्यक्तिले नेतृत्व गर्छु भन्नु नैतिकता विपरीत हुने बाँनियाको तर्क छ । रहस्य साप्ताहिकमा समाचार छ ।



















प्रतिक्रिया