Logo

गण्डकी प्रदेश

रुपन्देहीमा नेपालकै अर्को ठुलो क्रिकेट रङ्गशाला बन्दै



रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नेपालकै ठूलो क्षेत्रफलको क्रिकेट रंगशाला निर्माण थालिएको छ । करिब १५ बिघा क्षेत्रफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालिएको हो ।

नगरपालिकाले गत वर्षदेखि मैदान सम्याउने काम थालेको थियो । यो वर्ष डीपीआर निर्माण गरेर अन्य संरचना बनाउन थालिएको छ । यो रंगशाला नेपालकै ठूलो ९० यार्डको हुने नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

रंगशाला गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोकिटर उत्तरतर्फ रहेको छ । नगरपालिकाले मैदानको प्रारम्भिक पूर्वाधार निर्माणमा एक करोड ३० लाख रुपैयाँ खर्च गरिसकेको छ । गत वर्ष ३० लाखको बजेटमा माटो कटिङ, शौचालय र डे«सिङ रुम निर्माण गरिएको थियो । यो वर्ष एक करोडको बजेटमा माटो कटिङ, तारबार र डीपीआर बनाइएको छ ।

रंगशाला निर्माणका लागि करिब दुई अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यसले ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल समेटेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपाका  भूमिश्वर ढकालले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजनाका रूपमा रहेकाले बजेट व्यवस्थापन हुनेमा विश्वस्त रहन उनले आग्रह समेत गरे ।

सैनामैनामा रंगशाला बनाउने विषयमा नगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनसँग पनि छलफल गरेको थियो । कलाकार धुर्मुसले पनि रंगशाला स्थल अवलोकन गरेका थिए । नगरपालिकाले आफैं रंगशाला बनाउने योजनासहित डीपीआर निर्माण गरेको हो ।

नगरप्रमुख कार्कीले खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यसहित रंगशाला निर्माण थालिएको बताए । ‘बुद्ध जन्मस्थलको छेउमा बन्ने रंगशालाले अन्तर्राष्ट्रिय महत्व पाउनेछ’, उनले भने, ‘यसले खेल पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।’ सैनामैना क्षेत्र आफैमा बौद्ध स्थलसमेत हो । रंगशाला निर्माणका लागि छिट्टै निर्माण कम्पनी छनोट गरिने उनले जानकारी दिए ।

सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले ६ महिना लगाएर रंगशालाको डीपीआर निर्माण गरिएको बताए । रंगशालामा रातिको समयमा पनि खेल खेल्न सकिनेछ । रंगशालाअगाडि बुद्धको ठूलो प्रतिमा राखिने जनाएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।