Logo

अर्थ

४५ वर्षदेखि बजारमा वाइवाइ चाउचाउ, बजार हिस्सा ६० प्रतिशत



काठमाडौं । नेपाली बजारमा विगत ४५ वर्षदेखि आफ्नो अग्रता कायम राख्दै आएको वाइवाइ चाउचाउले ग्राहक उपस्थिति बढाएको छ । आफ्नो उच्च वृद्धिदर कायम राख्दै गत आर्थिक वर्ष ०८१/०८२ मा वाइवाइले १५ प्रतिशत वृद्धिदर हासिल गर्दै नेपालली चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको उत्पादक कम्पनी सीजी फूड्सले जनाएको छ ।

२० रुपैयाँ मूल्य श्रेणीमा मात्र वाइवाइको हिस्सा झण्डै ७० प्रतिशत रहेको कम्पनीले जनाएको छ। विश्वभर वार्षिक ४ अर्ब प्याकेट वाइवाइ उत्पादन भइरहेका छन्, जसमध्ये एक अर्ब प्याकेट नेपालमै उत्पादन हुने गरेको छ ।

वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनीका अनुसार कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र प्राथमिकता अनुसार नयाँ उत्पादनहरू बजारमा ल्याउँदै आएको छ । हालै सार्वजनिक गरिएका ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ जस्ता उत्पादनहरूले युवा वर्गमा लोकप्रियता हासिल गरेका छन् ।

‘गुणस्तरमा निष्ठा, उपभोक्ताको विश्वास र निरन्तर नवप्रवर्तन हाम्रो सफलता पछाडिको मूल कारण हो,’ पुडासैनीले भने। ‘अब स्पाइसी सेग्मेंटमा पनि हामी अग्रणी बन्ने लक्ष्यमा छौं।’

वाइवाइ हाल नेपालका साथै भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान, अफ्रिकालगायत देशहरूमा उत्पादन भइरहेको छ र ४० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ । यसले वाइवाइलाई नेपालको पहिलो र एक मात्र विश्वव्यापी ब्रान्डको रूपमा स्थापित गराएको छ ।

विशेषगरी प्रवासी नेपाली समुदायमा वाइवाइको लोकप्रियता अत्यधिक छ। ‘घरतिरको स्वाद’ भनेर चिनिने वाइवाइ नेपाली उपभोक्तामाझ मात्र होइन, विदेशी बजारमा पनि नेपाली स्वादको प्रतिनिधिको रूपमा प्रस्तुत हुँदै आएको छ ।

कम्पनीले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, अन्य सम्भावनायुक्त देशहरूमा उद्योग विस्तार गर्ने र वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १२:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।