काठमाडौं । अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको बिक्री–वितरणमा सक्रिय प्राइम एसोसिएट्सलाई विश्वप्रसिद्ध जोन डियरे समूहअन्तर्गतको विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरिएको छ ।
यस सम्बन्धी सम्झौता पत्र काठमाडौंमा आयोजित कार्यक्रममा विटगन ग्रुपका एमडी तथा सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दीपक आचार्यले आदान–प्रदान गरे। कार्यक्रममा नयाँ ग्राहकलाई उपकरणको चाबी समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा सिइओ पलागिरीले विटगन ग्रुपका उत्पादनलाई विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्दै नेपालमा यसको प्रयोग दिनप्रतिदिन बढ्ने अपेक्षा व्यक्त गरे । प्राइम एसोसिएट्सका निर्देशक आचार्यले लामो अनुभवका आधारमा नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउनुमा खुशी व्यक्त गरे ।
प्राइम एसोसिएट्सले १८ वर्षदेखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट कारोबार गर्दै आएको छ। कम्पनीले अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसरदेखि कंक्रिटिङका लागि सेल्फ लोडिङ मिक्सचरसमेत उपलब्ध गराउँदै आएको छ ।
१०० वर्षभन्दा लामो इतिहास बोकेको विटगन ग्रुपको स्थापना सन् १९९५ मा भारतको पुनेमा भएको हो। विश्वभर सडक निर्माण उद्योगका लागि नवीनतम प्रविधियुक्त मेसिनरी प्रदान गर्दै आएको यो समूहका विटगन, भोग्ले, ह्याम र क्लिम्यान ब्रान्डका उपकरणहरू नेपालमा सडक तथा आधारभूत संरचना निर्माणका लागि गुणस्तरीय समाधानका रूपमा प्रयोग भइरहेका छन् ।
यसै क्रममा ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी नेपालमा सार्वजनिक गरिएको छ । दुई भाइब्रेटिङ ड्रमसहितको सो रोलरमा इको–फ्रेन्ड्ली इन्जिन, थ्री–पोइन्ट आर्टिक्युलेसन, इर्गोनोमिक ड्राइभर प्लेटफर्म, इन्टेलिजेन्ट वाटर स्प्रिङक्लर सिस्टम जस्ता विशेष सुविधा उपलब्ध छन् ।
नेपालमा विटगन ग्रुपका उत्पादनहरू सडक निर्माणदेखि खानी सञ्चालनसम्मका विभिन्न परियोजनामा सफलतापूर्वक प्रयोग भइरहेका छन्। कम्पनीले देशभर सर्भिस नेटवर्कमार्फत बिक्रीपछिको सेवा र आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ ।




















प्रतिक्रिया