Logo

अर्थ

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढीकाे क्षति, हिल्टनमा मात्रै ८ अर्ब



काठमाडाैं ।  होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।

आन्दोलनका क्रममा काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरूमा तोडफोड, आगजनी र लुटपाटका घटनाले ठूलो नोक्सानी भएको हो। हानका अनुसार झण्डै दुई दर्जन होटलहरू प्रत्यक्ष प्रभावित भएका छन्।

हानले यो क्षतिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र शक्तिशाली न्यायिक समितिमार्फत जाँचबुझ गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अपराधीहरूलाई उचित क्षतिपूर्तिसहितको दण्ड सुनिश्चित गर्न र मर्मत–पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्नुपर्छ।”

सुशासन र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न युवाहरूको बलिदान र सयौं घाइते योद्धाहरूको त्यागबाट प्राप्त सफलतापछि मुलुक संक्रमणकालमा प्रवेश गरेको छ।

यस्तो अवस्थामा निजी क्षेत्रको ठूलो लगानी र सम्पत्तिमा भएको क्षतिलाई सम्बोधन गरी पर्यटन क्षेत्रको विकास र आर्थिक स्थायित्वका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने हानको जोडदार माग छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १३:१५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।