काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडमा वित्तीय संकटसँगै नेतृत्व समेत संकटमा देखिएको छ । नेपाल राष्ट्र बैंक र बैंक संचालक समेतको कारबाहीबाट बच्न एनआईसी एशिया बैंक लिमिटेडका सिईओ रोशन कुमार न्यौपाने गत बुधबार नै राजीनामा दिएर बैंकबाट बाहिरिएसँगै बैंक झनै संकटमा परेकाे छ ।
बैंकको व्यवस्थापकीय नेतृत्वमा रहेर गरेका दर्जनौँ वित्तीय अपराधलाई राजनीतिक दलका नेतृत्व तथा सत्ताको आडमा ढाकछोप गर्दै आएको भए पनि जेनजी आन्दोलनपछि भएको सत्ता परिवर्तन तथा नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्वनाथ पौडेलले न्यौपानेमाथि पुनः अनुसन्धान गरी कारबाहीको अन्तिम तयारी गरेको सूचना पाएपछि उनले राजिनामा बुझाएका हुन् ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार न्यौपानेलाई ५ लाख रुपैयाँ जरिवाना गरिँदै थियो । न्यौपानेलाई उक्त जरिवाना यसआघिनै अर्थात् गत साउन महिनामै गर्न लागिएको थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनैका विश्वासपात्र एवम् न्यौपानेका बिजनेस पार्ट्नर रामेश्वर थापाको ठाडो निर्देशनमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले उनलाई जोगाएका थिए । उनीमाथि राष्ट्र बैंकले नसिहत मात्रै दिएर उन्मुक्ति दिएको थियो ।
राष्ट्र बैंकबाट कसरी बाहिरिरियो सूचना ?
बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंककै कर्मचारीले न्यौपानेलाई कारबाही गर्न लागिएको सूचना बैंकका एसिस्टेन्ट सिईओ अर्जुनराज खनियालाई बताएको र उनैमार्फत् सूचना न्यौपानेसम्म पुगेपछि कारबाहीको पत्र पठाउनु अघि नै उनले राजीनामा बुझाएको राष्ट्र बैंक नियमन विभागका एक कर्मचारी बताउँछन् । उनका अनुसार आइतबार न्यौपाने लगायत बैंक संचालक समितिलाई समेत कारबाहीको पत्र पठाउने तयारी थियो । तर, सूचना लिक भएपछि न्यौपाने बुधबार नै बैंकबाट बाहिरीएका हुन् ।
यसअघि पनि न्यौपानेलाई कारबाही हुँदैछ भन्ने सूचना राष्ट्र बैंकले नै दिएको थियो । सोहि सूचना पाएपछि न्यौपाने उक्त कारबाहीबाट बच्न विभिन्न शक्तिकेन्द्र धाए । अन्ततः ओली निकट क्याप्टेन थापालाई प्रयोग गरि राष्ट्र बैंकलाई प्रभावमा पारी नगद जरिवानाबाट जोगिए । बैंक छोड्ने सर्तमा जरिवाना नगर्न भनेका न्यौपाने सर्तविपरीत पदमै रहिआएको र अपराधमाथि अपराध गर्न थालेपछी बैंक संचालक समितिले समेत बर्खास्त गर्ने तयारी थालेको थियो ।
न्यौपानेको खराब प्रदर्शनले बैंक ५.२ अर्ब घाटामा छ । बैंकका अधिकांश मुख्य वित्तीय सूचकांक नकारात्मक छन्, बैंक संकटग्रस्त अवस्थामा छ ।
संकटमा बैंक, नेतृत्वमा किचलो
न्यौपानेले राजीनामा दिएपछि संकटग्रस्त बैंकभित्र झनै समस्या उत्पन्न भएको छ । हाल बैंकमा कामु सिईओमा सन्तोष कुमार राठीलाई नियुक्त गरिएको छ । राठी कामु सिईओ बनेपछि बैंकभित्र झनै विवाद चुलिएको छ । राठीपछि हाल बैंकको उच्च व्यवस्थापनमा राजेश रावल, जयन्द्र रावल, रन्जन खड्का र अर्जुनराज खनिया छन् । राजेश रावल आँफै सिईओ बन्नुपर्ने भन्दै बैंकका युनियनलाई उचालेर किचलो गरिरहेका छन् । रावल न्यौपाने निकट रहेर उनका गैरकानुनी काममा समेत हौसला दिँदै आएका थिए भने एसिईओ खनियाले राठीलाई खासै रुचाउँदैनन् ।
न्यौपानेको राजीनामापछि खनियाले “राठीले बैंक चलाउनन सक्दैनन्” भन्दै दैनिक जसो राष्ट्र बैंक पुग्ने र उनका विरुद्धमा राष्ट्र बैंकमा ब्रिफिङ गर्ने गरेको राष्ट्र बैंक स्रोत बताउँछ ।
एकातर्फ बैंकको उच्च व्यवस्थापनमा देखिएको किचलोकै कारण बैंकमा हुने नियमित कार्यसम्पादन समेत प्रभावित बनेको छ भने अर्कोतर्फ बैंकका अति गोप्य एवंम महत्त्वपूर्ण डकुमेन्टसमेत कर्मचारीबाटै बाहिरिएपछि बैंक थप समस्यामा परेको छ ।
बैंकभित्रकै केहि कर्मचारी बैंकमा सिईओ बाहिरबाट ल्याउनुपर्ने माग गरिरहेका छन् भने केहिले भने राठीबाटै काम चलाउने सुझाव बोर्डलाई दिएका छन् । केहि भने बैंक निकै जटिल अवस्थामा पुगिसकेले राठी नेतृत्वले बैंक डुब्ने बताइरहेका छन् ।
त्यसो त बैंक यस किसिमको जटिलअवस्थामा पुग्नुको अर्को मुख्य कारण बैंकको ड्राइभिङ्ग सिटमै बसेर बैंक संचालक गरिरहेको बैंक संचालन समिति हो । अध्यक्ष तुलसीराम अग्रवालको महत्वाकांक्षा र विधि र पद्धति बाहिर गएर माडवाडी खुसी बनाउने ग्राहक लुट्ने न्यौपानेको प्रवृत्तिकै कारण बैंकका ग्राहक, शेयरधनीदेखि कर्मचारी समेत आजित छन्।
न्यौपानेको अकर्मण्यतालाई देखाएर उम्किएको बैंक संचालक समितिलाई उनको राजीनामापछि अग्राधिकार ल्याएर बैंक जोगाउनेभन्दा अर्को विकल्प नरहेको अवस्थामा कस्तो किसिमको रणनीति तय गर्ने बुझिएको छ ।
त्यस्तै नियामक निकायले बैंकमाथि निगरानी बढाएर लचिलो व्यवहार देखाइ बैंकको अस्तित्व जोगाउँछ कि भन्ने अपेक्षा गरिएको छ ।





















प्रतिक्रिया