काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित उद्योग र व्यवसायलाई लक्षित गर्दै सहुलियतपूर्ण राहत प्याकेज घोषणा गरेको छ ।
शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको परिपत्रमार्फत राष्ट्र बैंकले किस्ता तिर्ने अवधि बढाउने, सस्तो दरमा कर्जा उपलब्ध गराउने, र सवारी साधन किन्न ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार आन्दोलनबाट क्षति पुगेका व्यवसायले तिर्नुपर्ने साँवा र व्याजको भुक्तानी अवधि थप गरिनेछ । साथै, प्रभावित व्यवसायको पुनः सञ्चालनका लागि आधार दरमा बढीमा ०.५ प्रतिशत प्रिमियम थप गरेर सहुलियतपूर्ण कर्जा दिइनेछ । यो कर्जा बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध हुनेछ ।
यस्तै सवारी साधन किन्न पनि बैंकबाट मूल्यको ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । हाल सवारीसाधन किन्न ६० प्रतिशतमात्र कर्जा पाइन्छ । जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिहरुमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भइ नयाँ खरिद गर्नुपर्ने भएमा बैंक कर्जामा कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) कम्तिमा ८० प्रतिशत हुने व्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ ।
यस्तै अप्रत्यक्ष रुपमा प्रभावित व्यवसायिलाई पनि केही सहुलियत दिने तयारी केन्द्रीय बैंकले गरेको छ । सेयर बजार लगायतका क्षेत्रलाई पनि प्रोत्साहन गर्नेगरी प्याकेज घोषणा हुने स्रोतले बतायो ।




















प्रतिक्रिया