Logo

अर्थ

चाडपर्वमा सामानमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको आग्रह



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीहरूलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्य सूची अनिवार्य राख्न पुनः निर्देशन गरेको छ ।

विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै राख्नका लागि आग्रह गरेको हो ।

नियमित बजार अनुगमनमा विशेष गरी तिहारमा प्रयोग हुने भाइ मसला, तामा/चाँदीका भाँडा, झिलिमिली बनाउने विद्युतीय सामग्रीलगायत अन्य वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जनाएको छ ।

विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता राख्न प्रयासरत रहेको उल्लेख गरेको छ । यसका लागि व्यापारिक संघ, संगठन, व्यवसायी र उपभोक्तावादी संघ, संगठन र उपभोक्ताको महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ ।

उपभोक्ताले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल वा मूल्य सूची भएको वस्तु खरिद गर्न विभागले स्मरण गराएको छ । उपभोक्ताको कुनै गुनासो भए विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १२:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।