Logo

अर्थ

जेनजी आन्दोलन क्षतिमा बीमा कम्पनीहरूले दिए २ अर्ब अग्रिम दाबी भुक्तानी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले बिमितलाई करिब २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार २३ र २४ भदौमा भएको आन्दोलनमा आगजनी र तोडफोडका कारण क्षति भएका ३,१६३ वटा बीमित सम्पत्तिमा कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।

सोही अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी १ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।

तर, प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनमा आफ्नो सम्पत्तिमा क्षति पुगेको भन्दै बिमितले २३ अर्ब १९ करोड ३ लाख रुपैयाँ बराबर दाबी गरेका छन् ।

प्रधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १५ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १ सय ६६ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।

त्यसमध्ये राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २८ असोजसम्म कुनै पनि दाबीको अग्रिम भुक्तानी गरेका छैनन् ।

सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ इन्स्योरेन्सले ७८ करोड ८ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ । कम्पनीमा ५ अर्ब ४८ करोड रुपैयाँ बराबर माग दाबी परेको छ । त्यसैगरी द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड बराबर दाबी पर्दा अग्रिम भुक्तानी भने ७१ लाख मात्रै गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये बीमा भएका ६ सय ७३ सम्पत्ति बीमा, २ हजार २ सय ५६ मोटर बीमा, इन्जिनियरिङ तथा ठेकेदार बीमा १ सय ८२ , परिवहन बीमा १२ र अन्य बीमा ४० गरी कुल ३ हजार १ सय ६३ माग दाबी परेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १६:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।