काठमाडौँ। व्यवस्थापकीय नेतृत्वका लागि एनआईसी एशिया बैँकभित्रको ‘सत्ता संघर्ष’ बाट उत्पन्न आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ।
नबिल बैँकका डेपुटी सिईओ सुजितकुमार शाक्यलाई ‘डमी सिईओ’ बनाएर बैँकको प्रमुख कार्यकारी अधिकार आफ्नै नियन्त्रणमा राखिरहने योजना बनाएका अध्यक्ष तुलसीराम अग्रवाललाई आफ्नै निर्णयमाथि पुनर्विचार गर्ने मनस्थितिमा पुगेका छन्।
सिईओ रोशनकुमार न्यौपानेले राजिनामा दिएपछि बैँकका डेपुटी सिईओ सन्तोसकुमार राठीलाई कायममुकायम सिईओ नियुक्त गरेका भएपनि अग्रवाल आँफैले बैँक व्यवस्थापनको जिम्मेवारीमा समेत हस्तक्षेप गर्दै आएका छन्, स्पष्ट भन्नुपर्दा अग्रवाल आँफै अध्यक्ष- आँफै सिईओ हुन् । अग्रवालको नियतमाथि प्रश्न गर्दै नेपाल राष्ट्र बैँकले चासो देखाएपछि उनी आफ्नै दवाव तथा प्रभावमा रहि बैँकको ‘डमी सिईओ’ खोजिरहेका थिए। तर, उनको अन्डरमा बसेर उनकै तरिकाले काम गर्न कोहि इच्छुक नभएपछि अग्रवाल शाक्यबाटै काम चलाउने मनस्थितिमा पुगेका थिए।
शाक्य साबिकको बैँक अफ एशियाका अध्यक्ष तृलोक चन्द्र अग्रवाल निकट थिए। तिनै अग्रवालमार्फत् शाक्यले पटक- पटक सिईओ बनाउन तुलसीरामसँग आग्रह गर्दै आएका हुन्। तीन महिनाभित्र सिईओ नियुक्त गरेर राष्ट्र बैँकमा जानकारी गराउनुपर्ने भएकाले अग्रवाल आँफुले जे-जे भन्यो त्यहीँ गर्ने सर्तमा शाक्यलाई नै सिईओ बनाउन तयार भएका हुन्।
एनआईसी एशियामा को बन्दैछ सिईओ भन्ने चासो र चिन्ताका बीच शाक्य सिईओ बन्ने खबर एकाएक बाहिरिएपछि उनलाई निकाल्ने तयारी गरेको नबिल बैँकमा खुसीयाली देखिए पनि एनआईसीको कर्मचारीवृत्तदेखि नियामक निकायसम्म असन्तुष्टि चुलिएपछि अग्रवाल उनलाई सिईओ दिने निर्णयबाट पछि हटेका हुन्।
तुलसीराम शाक्यलाई सिईओको बनाएर सबै कार्यकारी निर्णय आँफै हत्याउने रणनीतिमा थिए। तर, अग्रवालको योजनामाथि नियामक निकाय नेपाल राष्ट्र बैंकको चासो बढेपछि उनी पछि हट्ने मनस्थितिमा पुगेको बताइएको छ।
सुरुवातदेखि नै तुलसीरामले बैँक संचालक समितिको अध्यक्ष भए पनि व्यवस्थापनमा ठाडो हस्तक्षेप गर्दै आईरहेका छन् । जसका कारण एनआईसीमा -सिईओ बनाउँछु आउनुस् भन्दा समेत कोहि गएनन्। सोहि मौका छोपेर शाक्य नबिलले निकाल्नुभन्दा पहिले नै जागिर छोडेको भन्ने देखाएर- ‘सँचालककै अन्डरमा रहि काम गर्छु’ जिम्मेवारी दिनुस् भन्न पुगेका थिए।
अग्रवालको यस किसिमको बायस एवम हस्तक्षेपकारी भूमिकालाई बैँकका केहि इमानदार कर्मचारी एवम् सरोकारवालाहरुले भने यो “संस्थागत सुशासनविरुद्धको निर्णय” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले अध्यक्षको व्यक्तिगत स्वार्थका कारण बैँकको प्रतिष्ठा एवम् लगानीकर्ताको विश्वासमाथि गम्भीर असर परेको भन्दै आगामी दिनमा बैँक व्यवस्थापनमा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको बताइएको छ।
यस सम्बन्धमा राष्ट्र बैँकका एक कार्यकारी निर्देशकले “कार्यकारी पदलाई ‘डमी’ बनाएर चलाउने परिपाटीले एनआईसी एशियाको ब्रान्ड एवम् वित्तीय अवस्थमा प्रत्यक्ष असर परिरहेको बताएका छन्। “एनआईसी एशियाले वित्तीय बजारमा चुनौती खेपिरहेका बेला पनि अध्यक्षकै हस्तक्षेप रहने हो भने संस्थाले लगानीकर्ताको विश्वसनीयता गुमाउनुका साथै वित्तीय सँकट झनै थपिने खतरा छ।” उनले भने।
राष्ट्र बैँक स्रोतका अनुसार, एनआईसी एशियामा सँचालक समिति भित्रपनि विभाजन छ। अग्रवालको एकल निर्णयप्रति बोर्ड असन्तुष्ट छ। बोर्डका केहि सदस्य बैँकले वित्तीय सँकट भोगिरहेको बेला बाहिरबाट सिईओ ल्याउँदा झनै समस्या थपिने हुँदा बैँकभित्रैबाट नेतृत्व छान्नुपर्ने पक्षमा छन्। राष्ट्रको बैँक सिनियर व्यवस्थापनका केहि अघिकारीहरुले पनि यस्तो अवस्थामा बाहिरका व्यक्तिभन्दा भित्रैका कर्मचारीबाट निकास खोज्न सुझाव दिएको बताएका छन्।
यद्यपि बैँक तथा वित्तीय सँस्थाको सिईओ नियुक्तिमा नियामक निकायको भूमिका नरहने हुँदा सँचालक समितिले छानेको सिईओका सम्बन्धमा प्रश्न नगरिने तर तिनका काम कर्बाहिमाथि निगरानी हुने बताएको छ।
शाक्यलाई सिईओ बनाउने बिषयमा पुनर्विचार गर्ने भएपछि उनले तत्काल नबिल बैँक नछाड्ने मनस्थितिमा पुगेको नबिल बैँकका एक उच्च अघिकारीले बताए। “उहाँले अहिले पनि नबिलकै कर्मचारी हो, राजिनामा दिनु भएको छैन तर एक तह माथिकै सिईओ पद बन्न पाए त बैँक छोड्ने कुरा ठूलो भएन। नियुक्ति हुनु अघिदेखि नै विवादमा तान्न खोजियो। त्यसकारण अब उहाँ आँफै जानुहुन्छ जस्तो मलाई लाग्दैन् ।” ती अधिकारीले भने।
योसँगै एनआईसी एशियामा नयाँ सिईओ को बन्छ भन्ने अन्यौलता कायमै छ। यद्यपि, सकेसम्म बैँकभित्रबाटै नेतृत्व खोज्नुपर्ने राष्ट्र बैँकका अधिकारीहरुले दिएको सुझावमाथि आगामी आइतबार बस्ने बैँक संचालक समितिमा बृहत छलफल हुने बुझिएको छ।
आफ्ना नजिकका सहपाठीसँग आफू एनआईसी एशिया बैँकको सिईओ बन्न लागेको बताएका शाक्यले प्रतिक्रिया दिन चाहेनन्।




















प्रतिक्रिया