नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरूको त्रैमासिक समीक्षा, कार्यदिशा र प्रशिक्षण गोष्ठी बर्दिबासमा सम्पन्न भएको छ।
कार्तिक १४ र १५ गते दुई दिनसम्म बर्दिबासस्थित विनायक होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा संस्थाका प्रदेश प्रमुख विक्रम शाहले अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत भागनारायण साहु थिए भने सहायक कार्यकारी प्रमुखद्वय ऋषि प्रसाद न्यौपाने र दिनेश कटुवालको विशेष उपस्थिति रहेको थियो।
गोष्ठीको पहिलो दिन शाखा कार्यालयहरूले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक व्यवसायिक लक्ष्यअनुसारका उपलब्धि र चुनौतीबारे छलफल गरेका थिए। अनुगमन तथा असुली विभाग प्रमुख वेद प्रसाद आचार्यले कर्जा असुली, निक्षेप वृद्धि र निष्क्रिय कर्जा व्यवस्थापनका विषयमा प्रेरणात्मक प्रस्तुति दिएका थिए।
दोस्रो दिन सहायक कार्यकारी प्रमुख दिनेश कटुवालले संस्थाको चालु आर्थिक वर्षको वार्षिक योजना र लक्ष्यबारे जानकारी दिँदै कर्मचारीलाई उत्प्रेरणात्मक तालिम प्रदान गरे। त्यसैगरी सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपानेले संस्थाको चुनौती सामना गर्न एकता र प्रतिबद्धताका साथ अघि बढ्न निर्देशन दिए।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने शाखा कार्यालयहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमको निष्कर्षमा प्रदेश प्रमुख शाहले सबै कर्मचारीलाई दत्तचित्त भई निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न आह्वान गर्दै गोष्ठीको समापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत साहुले संस्थालाई अझ सुदृढ र प्रतिस्पर्धी बनाउन सबैको एकजुट प्रयास आवश्यक रहेको उल्लेख गरे।




















प्रतिक्रिया