Logo

अर्थ

यस कारण धनगढी आयल निगम डिपो तत्काल स्थानान्तरण गर्न दबाब



घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले दबाबमूलक कार्यक्रम सुरु गर्ने तयारी गरेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि प्रयास भइरहेको भए पनि हालसम्म कुनै प्रगति नभएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन्।

शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाले डिपोका कारण बस्ती असुरक्षित बनेको बताउँदै तत्काल स्थानान्तरण गर्न निगम व्यवस्थापनलाई आग्रह गरे। उनका अनुसार टोलमा ८७ घरधुरीमा ३५० भन्दा बढी मानिस बसोबास गर्छन्। “डिपो नजिकै भएका कारण आगलागी वा विस्फोटको जोखिम सधैं रहन्छ,” उनले भने, “स्थानीयलाई शान्तिपूर्ण बसोबासको अधिकार सुनिश्चित गर्न डिपो सारिनु जरुरी छ।”

डिपो नजिकै विद्यालय, अस्पताल, नेत्रालय र व्यावसायिक भवनहरू रहेकोले थप जोखिम बढेको स्थानीयको गुनासो छ। विद्यालयका प्राचार्य तीर्थराज फुलाराले “विद्यार्थीहरू निरन्तर त्रासमा छन्, डिपो तत्काल सारिनुपर्छ” भने।

नगर प्रमुख गोपी हमालले पनि सुरक्षा संवेदनशीलता बढेकाले निगमलाई बारम्बार सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको बताए।

यसैबीच, निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ जग्गा पहिचानको काम भइरहेको जानकारी दिए। “चार–पाँच स्थानमा सम्भावित जग्गा खोजी भइरहेका छन्, उपयुक्त ठाउँ भेट्टिनेबित्तिकै स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ,” उनले भने।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार २२:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।