Logo

कर्पोरेट फोकस

राष्ट्र बैंकका गभर्नरसँग एनआईसीका अध्यक्षको गोप्य भेट, वित्तीय अपराध टार्न ‘हारगुहार’



काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडका अध्यक्ष तुलसीराम अग्रवालले आफ्नै नेतृत्वमा भएको वित्तीय अपराध, अनियमितता र नियमन उल्लङ्घनका मुद्दा टार्न राष्ट्र बैंकमा हारगुहार सुरु गरेका छन् । सोहिक्रममा तुलसीरामले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग गोप्य भेट गरेको तथ्य बाहिरिएको छ।

गभर्नरसँगको भेटमा तुलसीरामले सँधैझैँ यसपटक पनि वित्तीय अपराधमा उन्मुक्त गरिदिन आग्रह गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। यस बिषयलाई गभर्नर कार्यालयका निर्देशक शरण अधिकारीले पुष्टि गरेका छन् । उनले भनेका छन्,- ‘गभर्नर साबसँग अध्यक्षको भेट भएको हो, भेटमा के कुरा भयो त्यो भने मलाई जानकारी छैन। उहाले एक्लै भेट्नु भएको थियो ।’

सोमबार बिहानै  गभर्नर भेट्न पुगेका तुलसीरामले आफूमाथि सोधिएको स्पष्टीकरणका सम्बन्धमा गर्ने भनिएको कारबाही स्वरुपको ‘नगद जरिवाना’ नगरिदिन आग्रह गरेको राष्ट्र बैँकका एक अधिकारी बताउँछन्। ती अधिकारीका अनुसार अध्यक्ष तुलसीरामले ‘अपराध’ बैंक व्यवस्थापनबाट भएको र सीइओ रोशन कुमार न्यौपानेले स्पष्टीकरण सोध्नु अगावै जागिर छोडिसकेकाले यस बिषयलाई सहज र सरल तरिकाले टुंग्याइदिन भनेका छन्।

साथै , अध्यक्ष तुलसीरामले बैँक तथा वित्तीय सँस्था नियमन विभागका प्रमुख गुरु पौडेल र बैँक तथा वित्तीय सँस्था सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावललाई समेत एक्लाएक्लै भेट गरी कारबाही प्रक्रिया रोकिदिन भनेको राष्ट्र बैँकका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । उनी भन्छन्,- ‘यसपटक पनि राम्रै डिल भएको हुनुपर्छ। नत्र त सँधै अपराध भयो भन्दै स्पष्टीकरण सोध्ने अनि दिएको जवाफमा चित्त बुझाउँदै बस्ने भन्ने त नहुनुपर्ने हो। गभर्नरसाब सँग भेटेर निस्कँदा पनि उहाँ प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो भन्ने सुनेको छु।’

बैंक सञ्चालक समितिका अध्यक्ष अग्रवालले व्यवस्थापनका नियमित कामकारबाहीमा समेत प्रत्यक्ष हस्तक्षेप गर्दै आएकै  कारण बैंकभित्र सुशासन कायम हुन सकेको छैन भने नीति निर्देशनको समेत व्यापक उल्लङ्घन हुँदा बैंक वित्तीय संकटमा छ। जसअनुसार गत आर्थिक बर्षमा बैंकको नाफा १६ करोडमा सिमित भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातमै अर्थात् आर्थिक बर्ष २०८२/८३ को पहिलो त्रैमासमै अध्यक्ष तुलसीराम र सीइओ र न्यौपानेमाथि  बैंक तथा वित्तीय संस्था ऐनअनुसार नियामकीय निर्देशन उल्लङ्घन गरेको निष्कर्षसहित कारबाही प्रक्रिया अघि बढाएको छ। सोहिअनुसार राष्ट्र बैंकले उनलाई औपचारिक रूपमै पत्र पठाई स्पष्टीकरण सोधिसकेको छ।

राष्ट्र बैंकले आर्थिक अनियमितता,  नियामकीय निर्देशन अन्तर्गत नियमअनुसार प्रोभिजन नगरिएको, ब्याज छुटमा मनोमानी, कार्यकारी अधिकृतको जिम्मेवारीमा हस्तक्षेप बिषयमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकको स्पष्टीकरणमा अधय्क्ष तुलसीराम तथा तत्कालिन सीइओ न्यौपानेले जवाफ पठाईसकेका छन्।

स्रोतका अनुसार यस पटक भने अध्यक्ष तुलसीराम र सीइओ न्यौपानेलाई नसिहत या सचेत मात्र नभई नगद जरिवाना गराउने राष्ट्र बैंकको तयारी छ। यधपि उक्त जरिवानाबाट बच्नकै लागि न्यौपानेले राजिनामा बुझाएर बैंक छोडिसकेका छन् भने तुलसीराम अझै पनि कारबाही नगरिदिन राष्ट्र बैंकमा हारगुहार गरिरहेका छन्।

तर, सिईओ न्यौपानेले जरिवानाबाट बच्न राजिनामा दिएर बाहिरिएको भएपनि अपराधबाट उन्मुक्त नभइ सजायको भागिदार हुने नेपाल राष्ट्र बैँक कानुन विभागका एक अधिकारी बताउँछन्। उनी भन्छन्, -‘जागिर छोड्दैमा अपराधबाट उन्मुक्ति हुन्छ भन्ने होइन। कसुरको प्रकृति हेरेर फौजदारी या देवानी कुन किसिमको हो, सोहिआधारमा राष्ट्र बैँक ऐनमा व्यवस्था भए अनुसार कारबाही हुन्छ।’ “जागिर छोडेको लामो समयपछि पनि अख्तियारले मुद्दा दायर गरि सजाय गरेको थुप्रै उदाहरण छन्।” उनले भने।

यस अघि पनि अर्थात् आर्थिक बर्ष २०८१ /८२ को दोस्रो त्रैमासमा – ‘आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी’ प्रमुख कार्यकारी अधिकृत न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको थियो । उक्त समयमा न्यौपानेले पहुँचको दुरुपयोग गरी क्यापटेन रामेश्वर थापामार्फत् तत्कालिन गभर्नर महाप्रसाद अधिकारीलाई प्रभावमा पारी नगद जरिवानादेखि उन्मुक्त भएका थिए। तर, पहुँचकै आडमा पटक-पटक नियामकीय निर्देशन उलंघन गरेपछि राष्ट्र बैंक उनीहरुमाथि जरिवाना गराउनु पर्ने निष्कर्षमा पुगेको राष्ट्र बैंक स्रोत बताउँछ।

राष्ट्र बैंकका उच्च अधिकारीहरूका अनुसार एनआईसी एशिया बैंक तथा अध्यक्ष तुलसीरामले वित्तीय प्रणालीको मापदण्ड नै उल्लङ्घन गर्दै आएका छन्। अध्यक्ष तुलसीराम तथा सीइओका गतिविधिहरूले बैंकको पारदर्शिता एवम्  सुशासनमाथिनै प्रश्न उब्जाएको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमै उल्लेख छ।

कारबाही प्रक्रिया चलिरहेकै समयमा गभर्नर पौडेलले अध्यक्ष तुलसीराम पौडेलसँग गोप्य रुपमा भेट गर्नुलाई राष्ट्र बैंककै अधिकारीहरुले – के राष्ट्र बैँकले फेरि पनि नसिहत या सचेत गराएर मात्रै उन्मुक्ति दिन खोजेको त हैन ? भन्ने प्रश्न गर्न थालेका छन् ।

तर, यस सम्बन्धमा गभर्नर पौडेल र अध्यक्ष अग्रवालले भने कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १८:५७   :  बजे

5.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।