काठमाडौं । राहदानी विभागले थप सात लाख राहदानी खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार, आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको छ ।
विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको थियो ।
राहदानी विभागले यसअघि दैनिक एक हजारको संख्यामा ‘अपोइन्टमेन्ट डेट’ खोल्ने गरेको थियो । सेवाग्राहीको मागअनुसार सो संख्यालाई विभागको दैनिक क्षमताअनुसार बढाई सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन उपलब्ध गराउँदै लगिने जनाएको छ ।
यसका लागि विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकताअनुसार अतिरिक्त समय काममा लगाई यथा शीघ्र राहदानी आपूर्ति सहज तुल्याउने व्यवस्था मिलाइने भएको छ ।
विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा एक/दुई हप्ताभित्रमा छपाइ गरी पठाइने व्यवस्था मिलाइने विभागले सूचना जारी गर्दै भनेको छ ।




















प्रतिक्रिया