राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरका बचत तथा ऋण सहकारी संस्थाको दर्ता र अभिलेखीकरणलाई स्वचालित बनाउने उद्देश्यले नयाँ ‘अनलाइन सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ।
बुधबार पाटन, ललितपुरमा आयोजित समारोहमार्फत प्राधिकरणले सहकारीका सञ्चालक वा व्यवस्थापनको भौतिक उपस्थितिबिनै अभिलेख अद्यावधिक गर्न सकिने व्यवस्था लागू गरेको हो।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने वातावरण तयार गरिएको बताए। निक्षेप तथा कर्जा सुरक्षण कोषमा समावेश हुन पनि अब सहज हुने उल्लेख गर्दै उनले सहकारी क्षेत्रका चुनौती समाधान गर्न संयोजन र सहजीकरणलाई प्राथमिकता दिने बताउँदै, उत्पन्न समस्याका कारण पीडितहरू सडकमा आउनुपर्ने अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष शर्माले सम्पत्ति शुद्धीकरणसम्बन्धी मापदण्ड पालनामा सहकारीहरूलाई निश्चित प्रणालीमा ल्याउन प्राधिकरण दृढ रहेको बताए। उनका अनुसार विगतमा देखिएका कमजोरी हटाउन सबै पक्षले मिलेर कार्य गर्न आवश्यक छ।
राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष डिबी बस्नेतले सहकारी संख्याअनुसार प्रणालीलाई सञ्चालन गर्न सक्ने गरी व्यवस्थापन थप सबल बनाउन आग्रह गरे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका कोषाध्यक्ष दीपक थापाले प्रारम्भिक सहकारी संस्थाले वित्तीय पृष्ठपोषण र सहज मार्गदर्शन पाउनुपर्ने आवश्यकता औल्याए।




















प्रतिक्रिया