हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र सडक खण्डभित्र पर्ने २५–२५ गजभित्र बनेका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ ।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज विस्तार गर्न लागेको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरू हुने जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ । ‘हामी भोलिदेखि काम अगाडि बढाउन तयारी अवस्थामा छौं,’ अधिकारीले भने ।
सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ । २५/२५ गजभित्र पर्ने संरचनाधनीहरू आन्दोलित भइरहेका छन् भने स्थानीय तहमा समेत दबाब बढिरहेको छ ।
२० मंसिरदेखि सडक डिभिजन अतिक्रमित संरचना हटाउन मैदानमा उत्रिने तयारीमा छ । २० देखि २५ दिनभित्र अतिक्रमित संरचना हटाइसक्ने लक्ष्य सडक डिभिजन कार्यालयले लिएको छ ।




















प्रतिक्रिया