Logo

प्रमुख समाचार

फागुन ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले मिलेर भिड्ने : प्रतिनिधिसभा ब्यूँत्याउन ओली र देउवा सक्रिय



काठमाडौं । नेपालको राजनीति देश र जनता अनुसार गुड्न नसकि भागवण्डामा उड्केर नियन्त्रित तवरमा तीन दल कांग्रेस र कम्युनिष्टहरु एमाले र माओवाद केन्द्रको वरिपरि घुम्दै फिर्दै अहिले नेपाली कम्युनिष्ट पार्टीको स्वरुप धारण गरेर पेचिलो बनेको छ ।

कम्युनिष्टहरुको पेचिला राजनीतिमा १६ दल सामेल भई प्रचण्डलाई हाईकमान बनाइएको छ जसको साथी माधव नेपाल बनेका छन् । उता ११औं महाधिवेशनमा एमाले ओली अर्थात्, खड्गप्रसाद शर्मालाई तह लगाउन नसक्दा उनी पार्टीमा अजम्बरी नेता बनेका छन् ।

महाधिवेशन अवधिभर ओली एण्ड कम्पनी हावी भई ओलीसँग भिड्न आउने ईश्वर पोखरेल जस्तो धुरन्धर नेता समेतलाई थाग्नमा सुताउन सफल हुनुको पछाडि जे जस्तो कारण भए पनि कार्यकर्ताहरु नै ओली अगाडि नतमस्तक भए पछि अरुको के चल्न सक्छ ।

सबै ठाउँमा फुटबल खेलमा पासिङ्ग गरेझैं केपी शर्मा ओलीले खेला बेला रच्दा उद्घाटन सत्रदेखि उम्मेदवार नेतृत्व चयनसम्म अनेक तिकडम लगाएर कछुवा दाउमै अन्य एमाले नेता र कार्यकर्ताहरुलाई तह लगाउन पाएको सफलता ओलीको भाग्य र आँटले शीर्षस्थान ग्रहण गर्न मौका दिएको स्पष्ट हुन्छ ।

नेपाली राजनीतिको चतुर खेलाडी ओली गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पछि सत्ताबाट बाहिरीएर आउट भए पनि पुनः कम समय भित्र राजनीतिलाई आफ्नो पक्षमा ल्याएर देशको संगठित दल नेकपा एमालेको नेतृत्व कब्जा गर्न जुन सफलता हाँसिल गरे त्यसलाई सामान्य मान्न सकिन्न ।

ठूलो पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवा कडा सुरक्षाबीच भदौ २३ र २४ गते आफ्नो निवास बुढानिलकण्ठमा रहेता पनि सुरक्षाकमीहरु अगाडि नै जेन–जी युवाहरुबाट पिटिए । लात जुत्ता खाएर बडो मुस्किलले देउवा दम्पत्तिको ज्यान जोगियो जबकी ओलीलाई बाल बाँका भएन ।

उनी बंगलादेशकी लखेटिएकी शासक शेख हसिना झै हेलिकोप्टरमा भाग्नु पर्यो र अनुकूल समयमा राजधानी काठमाडौं फर्केर सबैलाई चुनौती दिदै एमालेको ११औं महाधिवशन आफू अनुकूल गरेर जेन–जी युवाहरु समेतलाई चुनौती दिएको छ भने संसद बाहिरबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई ओली मण्डलले अवैध ठहर्याउँदै प्रतिनिधिसभा ब्यूँत्याउन सर्वोच्च अदालतमा मुद्दा दायर गरी सबैलाई खुला चुनौती दिएको छ ।

केपी शर्मा ओलीले प्रतिनिधिसभा ब्यूँत्याउन कांग्रेस पार्टी र सो दलका सभापति शेरबहादुर देउवासँग समेत सहकार्य गरेर कार्की सरकारलाई थर्काएको छ । यद्यपि सुशिला कार्की नेतृत्वको सरकार र निर्वाचन आयोग फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचन गराएर छाड्ने दृढता व्यक्त गर्दै आएकी छिन ।

आम जनताको चुनाव हुने नहुनेमा द्विविधा व्यक्त गर्दछन् । निर्वाचन आयोग चुनावको ब्यापक तयारीमा जुटेका छन् भने एमालेले यो चुनावमा भाग नलिई अदालतमार्फत प्रतिनिधिसभा ब्यूँताएर पुनः सत्तामा फर्किन कम्मर कसेका छन् ।

ओली भन्छन् प्रतिनिधिसभा ब्यूँतेमा कांग्रेस र एमाले मिलेर सरकार चलाउने एवं सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

त्यही भएर देउवा पुनः प्रधानमन्त्री बन्ने आश लगाएका छन् । जबकि माओवादी केन्द्रका नेताहरु समाजवादी दलहरु मिलेर बनेका नयाँ दल नेपाली कम्युनिष्ट पार्टी नयाँ जनादेश अर्थात फागुन २१ गतेको निर्वाचनबाट सरकारमा जाने दाउमा छन् ।

जताबाट भए पनि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्व हत्याउन छटपटाउन थालेको छन् ।

जेन–जी आन्दोलनको असर यी तीन दलका नेताहरुमा परेको छैन । “न पुस्तान्तरण र रुपान्तरण” यी तीनै सत्ताखोर नेताहरु पुरानै ढर्रामा पार्टी चलाएर सत्ता कब्जामा जुटेका छन् ।

ओली एक वर्ष कार्यकाल बाँकी छँदै अर्लि महाधिवेशन गरेर एमाले भित्रको आफ्नो शत्रु नेताहरुलाई  किक हान्न पाएका छन् भने ओली ब्लैंक कोबरा सर्प झैं पार्टीमा उनलाई चुनौती दिनेलाई डस्न सफल हुनु अर्को विडम्बना देखिन्छ ।

त्यसो त कांग्रेस वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले गराउने निर्वाचनमा सहभागिता जनाउन आठौं पटक डडेलधुरा जिल्लाबाट छानिएर केन्द्रमा सिफारिश भएका खबर अपर्णमा उल्लेख छ ।

जेन–जीहरु सडक तताउँदै गर्दा देउवा एण्ड कम्पनी ती सबैलाई चुनौती दिदै सत्तामा आउन हरेक हर्कत गर्न तम्तयार भएको पाईन्छ भने कांग्रेस–एमालले भावी राजनीतिक परिदृश्य आ–आफ्नो पक्षमा ल्याउन अहिले देखिनै सक्रिय भएर आगामी फागुन ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस एमाले मिलेर अधिकांश सदस्य कब्जा गर्ने रणनीतिमा सहमति जनाएर अघि बढी रहँदा जेन–जीहरु टुलुटुलु हेरेर बस्नु पर्ने स्थिति छर्लङ्ग छ ।

यदि प्रतिनिधिसभा ब्यूँट्यो भने सुशिला कार्की नेतृत्वको सरकार हवा खाने छन् । फेरि सत्ता ओली र देउवाको पकडमा जाने निश्चित छ । देउवा र ओली मिलेमा जेन–जीको वकालत गर्ने प्रचण्डको सहयोग बिना नै सरकार गठन गर्न सक्ने आंकलन देउवा र ओलीको ठहर छ ।

प्रकाशित मिति : ५ पुष २०८२, शनिबार ०९:०९   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।