Logo

इन्स्योरेन्स

हिमालयन लाइफ नेतृत्व संकटमा: सिईओको फितलो व्यवस्थापनले बीमितकै भरोसा गुमाउँदै कम्पनी



काठमाडौं। नेपालकै ठूला जीवन बीमा कम्पनीमध्येको एक बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मर्जरपछि नेतृत्व संकटमा फँसेको छ। प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल कुमार दाहालको फितलो व्यवस्थापन र स्पष्ट रणनीति योजना अभावका कारण कम्पनीको आकार, पुँजी र बजार हिस्सामा वृद्धि हुँदा पनि बीमित सेवा, दाबी भुक्तानी र आन्तरिक समन्वय कमजोर बन्दै गएको गुनासो तीव्र रुपमा बढेको छ।

साविकको गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ मर्ज भएर बिशाल बनेको कम्पनीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत र शीर्ष व्यवस्थापनको हो। तर, मर्जरपछिको दुई वर्ष नपुग्दै नेतृत्वले संगठनात्मक चुनौती सम्हाल्न नसक्दा संस्था जोखिममा परेको छ।

ठूलो संस्था चलाउन आवश्यक स्पष्ट निति होस निर्णय र जवाफदेही नेतृत्वको अभावमा कम्पनी धरासायी बनेको गुनासो कम्पनीभित्रै उठ्न थालेको छ।

हिमालयन लाइफकै बीमित, अभिकर्ता तथा कर्मचारीहरुका अनुसार प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहालको नेतृत्वमा चलेको कम्पनीले ब्रान्ड प्रचार, नयाँ पोलिसी विस्तार र बजार प्रतिस्पर्धामा समेत मात्र ध्यान दिन सकेको छैन। त्यसमाथि मृत्यु दाबी, परिपक्व पोलिसी भुक्तानी र बोनस समायोजनजस्ता संवेदनशील विषयमा पनि स्पष्ट र कडा निर्देशन नआएको आन्तरिक गुनासो छ।

नम्बर वान बन्दै आएको कम्पनीको एमडीआरटी पनि घटेर छैटौँ  नब्बरमा पुगेको छ। यसबाट बीमित सेवा र प्रणाली सुधार दोस्रो दर्जामा धकेलिँदा ठूलो भनिएको बीमा कम्पनीकै नेतृत्व कमजोर भएको छ भन्ने प्रश्न चौतर्फी उठिरहेको उठेको छ।

त्यस्तै, कम्पनीभित्र प्रमुख कार्यकारी अधिकृत मातहत रहेका  विभागहरूबीचको समन्वय अत्यन्त कमजोर रहेको कर्मचारी तथा अभिकर्ताहरु बताउँछन्।

‘शाखा कार्यालयले केन्द्रीय कार्यालय देखाउँछ, केन्द्रीय कार्यालय भने ‘प्रक्रियामा छ’ भन्ने जवाफ दिन्छ—यही चक्रमा बीमित महिनौं अल्झिरहेका छन्। जसको अपजस हामीमाथि आउँछ, एक अभिकर्ताले भने।

बीमा क्षेत्रका विशेषज्ञहरूका अनुसार मर्जरपछिको सबैभन्दा ठूलो चुनौती कर्मचारी व्यवस्थापन तथा समन्वय हो। तर, प्रमुख कार्यकारी अधिकृत दहालले त्यो चुनौती समाधान गर्न नसकेको उनीहरुको बुझाई छ। सिइओले यसलाई निकै फितलो रुपमा हेरेका छन्।

निर्णय प्रक्रियामा ढिलाइ र जिम्मेवारी पन्छाउने संस्कृति कम्पनीभित्र सामान्य बन्न थालेको अभिकर्ताहरुको आरोप छ। दाबी भुक्तानी गर्नुपर्ने फाइलहरू तह–तहमा अड्किने, एक विभागबाट अर्को विभागमा सारिने तर अन्तिम निर्णय नआउने अवस्था सामान्य जस्तै बनेको उनीहरु गुनासो गर्छन्। यसले प्रमुख कार्यकारी अधिकृतसँगै व्यवस्थापन जोखिम लिन नचाहेर निर्णय टार्ने नीतिमा गएको हो कि भन्ने गम्भीर प्रश्न उब्जाएको उनीहरुको भनाइ छ।

बीमित मात्र होइन, कम्पनीभित्रै कर्मचारीको असन्तुष्टि समेत सतहमा आउन थालेको छ। मर्जरपछि जिम्मेवारी स्पष्ट नहुनु, कार्यसम्पादन मूल्यांकन प्रणाली अस्पष्ट हुनु र व्यवस्थापन तहबाट दबाब मात्र बढ्नुले संगठनात्मक मनोबल खस्केको कर्मचारीहरूको गुनासो छ। आन्तरिक असन्तुष्टि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर बीमित सेवामा परेको उनीहरूको भनाइ छ।

ती कर्मचारीहरुका अनुसार यति धेरै गुनासोका बाबजुद पनि सञ्चालक समिति र नेपाल बीमा प्राधिकरण दुवैबाट प्रमुख कार्यकारी अधिकृत र शीर्ष व्यवस्थापनको कार्यसम्पादनमाथि सार्वजनिक समीक्षा वा कडा निगरानी देखिएको छैन। यसले नेतृत्वलाई उत्तरदायित्वभन्दा माथि राखिएको हो कि भन्ने आशंकालाई पुष्टी गरेको छ।

हिमालयन लाइफको वास्तविक चुनौती पुँजी, बजार वा प्रतिस्पर्धा मात्र नभई प्रमुख कार्यकारी अधिकृत दाहालको फितलो नेतृत्व र व्यवस्थापनको प्रभावकारिता भएको आम बुझाई छ ।

यदि दाबी–केन्द्रित सुधार, आन्तरिक समन्वय र बीमित–मैत्री निर्णयलाई तत्काल प्राथमिकतामा राखिएन भने कम्पनीको ठूलो आकार नै कमजोरीमा परिणत हुने खतरा बढ्दै जाने जानकारहरु बताउँछन्।

त्यसमाथि सिईओ दहालमाथि आफ्नो पद जोगाउकै लागि संस्था एवम् कर्मचारीको हित भन्दा बढी युनियनका अध्यक्षको चाकडी गर्दै आएको आरोप छ।

दाबी भुक्तानी व्यवस्थापन प्रक्रियामा पारदर्शिता, प्रत्येक शाखा र विभागबीच प्रत्यक्ष कार्यसमन्वय प्रणाली लागू, कार्यसम्पादन मूल्यांकन र जिम्मेवारी स्पष्ट गर्न सिईओ दहाललाई संचालक समितिले पटकपटक निर्देशन दिँदै आएको भए पनि उनी सेवा–गुणस्तरभन्दा आफ्नै निजी स्वार्थअनुकुलका काममा लाग्दै आएको गुनासो कम्पनीभित्रै उठिरहेको छ।

यो पनि

हिमालयन लाईफका सिईओ कपिल दाहाल – कर्मचारी युनियनका ‘कारिन्दा’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार २२:५१   :  बजे

501
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।