Logo

इन्स्योरेन्स

हिमालयन लाइफका सीईओप्रति असन्तुष्टि चुलिँदै, नाफा हुँदाहुँदै किन दिएनन् लाभांश ?



काठमाडौं । तीन वटा कम्पनीलाई मर्जर गरेपछि नेपालकै ठूला जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड पछिल्लो समय गम्भीर व्यवस्थापकीय नेतृत्व संकटको चपेटामा परेको छ। नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) कपिल दाहालले नेतृत्व सम्हालेसँगै कम्पनीभित्र निर्णय प्रक्रिया कमजोर बनेको, कर्मचारी- कर्मचारीबीच विभेद गरिएको र युनियनको निर्देशनअनुसार संस्थागत संस्कृतिमा भयको वातावरण सिर्जना गरिएको बिषमा देखिको असन्तुष्टि सतहमा आएको छ।

कम्पनीका कर्मचारीहरुका अनुसार सीइओ दाहालले अपेक्षित व्यावसायिक नेतृत्व दिन नसक्दा संगठनभित्र आन्तरिक द्वन्द्व बढेको छ। कर्मचारी युनियनसँग नजिकिएर कर्मचारीमाथि नै अन्याय गर्दौ आएको आरोप खेपिरहेका दाहालले युनियनको संरक्षणमा केहि कर्मचारीलाई काखा र केहीलाई पाखा लगाएको गुनासो व्यापक रुपमा उठेको छ।

संरक्षण गर्नुपर्ने युनियनद्वारा उल्टै त्रास

संगठनभित्र कर्मचारीको हक–हितका लागि सक्रिय हुनुपर्ने युनियनकै नाममा कर्मचारीमाथि दबाब र त्रास सिर्जना गरिएको आरोप उठ्न थालेको छ। “असहमति जनायो भने सरुवा, जिम्मेवारी खोसिने वा मूल्याङ्कन बिगारिने डर देखाइन्छ,” एक कर्मचारी भन्छन्, “यसले खुला रूपमा बोल्ने वातावरण नै समाप्त हुँदै गएको छ।”

नाफा हुँदाहुँदै लाभांश रोकिनु विवादास्पद

आर्थिक विवरणअनुसार हिमालयन लाइफ नाफामै रहेको देखिए पनि कम्पनीले लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको गत पुस २५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यसलाई सामान्य वित्तीय निर्णयभन्दा पनि तत्कालीन नेतृत्वलाई असक्षम देखाउने रणनीति का रूपमा हेरिएको छ।

गत आर्थिक बर्षमा पनि कम्पनीमा आधा अर्वभन्दा बढी नाफा हुँदाहुँदै पनि लाभांश वितरण रोक्नुले बजारमा नकारात्मक सन्देश प्रवाह भएको छ। यसले कम्पनीप्रति संस्थाका शेयरधनीको भरोसा कमजोर बनाउने जोखिम पनि बढाएको छ।

खर्च कटौतीको नाममा व्यवसाय नै क्षति

सीईओ दाहालको कार्यकालमा खर्च कटौतीलाई प्राथमिकता दिइएको भनिए पनि सोही नाममा राम्रै व्यवसाय गरिरहेका एजेन्सीहरू बन्द गरिनु दीर्घकालीन रणनीतिभन्दा पनि हतारो निर्णयको परिणाम भएको कर्मचारीहरूको आरोप छ।
बीमा व्यवसायको मुख्य आधार मानिने एजेन्सी संरचना कमजोर पारिँदा कम्पनीको प्रिमियम संकलन, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता घट्ने जोखिम बढेको छ।

सञ्चालक समिति र नियामकमाथि नै प्रश्न

सीइओ दाहालका कार्यसम्पादनमाथि यति धेरै आरोप तथा गुनासा सार्वजनिक र आन्तरिक रूपमा उठ्दा पनि सञ्चालक समिति तथा नियामक निकाय मौनता रहनुले झनै गम्भीर प्रश्न उब्जाएको छ।

संस्थाभित्रका देखिएका समस्या समयमै समाधान हुन नसक्दा हिमालयन लाइफ आकारमा ठूलो भए पनि व्यवसाय विस्तारमा तल पर्ने खतरा बढ्दै गएको लगानीकर्ताको गुनासो छ।

मर्जरपछि झनै बढी जवाफदेही रुपमा स्थायित्व र विश्वास निर्माण गर्नुपर्नेमा सीईओ दाहालको अकर्मण्यता र खराब कार्यशैलीका कारण भने कम्पनीलाई नयाँ अनिश्चिततातर्फ धकेलिएको चर्चा छ।

यो पनि

हिमालयन लाइफ नेतृत्व संकटमा: सिईओको फितलो व्यवस्थापनले बीमितकै भरोसा गुमाउँदै कम्पनी

हिमालयन लाईफका सिईओ कपिल दाहाल – कर्मचारी युनियनका ‘कारिन्दा’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार २२:०२   :  बजे

696
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।