काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सले सरकारका निकायले गरिरहेको अनुसन्धानका विषयमा कानुनी र नियामकीय प्रकृयामा पूर्ण सहयोग गर्ने जनाएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेपछि होल्डिङ्सले यस्तो विज्ञप्ति जारी गरेको हो ।
विभिन्न सञ्चार माध्यममा उल्लिखित आर्थिक कारोबार तथा सम्बन्धित विषयहरू हाल सम्बन्धित नियामक तथा अनुसन्धान निकाय समक्ष बिचाराधीन अवस्थामा रहेको र यो प्रक्रियामा पूर्ण सहयोग गर्ने होल्डिङ्सले जनाएको छ । तर कानुनी प्रक्रियाको अन्तिम निष्कर्ष नआएसम्म अपुष्ट जानकारीमा आधारित हतारो निष्कर्ष ननिकाली धैर्यता र संयमता अपनाइदिनुहुन पनि होल्डिङ्सले सरोरकारवालालाई अनुरोध गरेको छ ।
‘कानुनको शासनमा दृढ विश्वास राख्ने एक जिम्मेवार संस्थाको नाताले जगदम्बा होल्डिङ्सले जारी कानुनी तथा नियामकीय प्रक्रियालाई पूर्ण सम्मान गर्दै, सम्बन्धित निकायहरूले माग गरेका सम्पूर्ण कागजात, तथ्यांक तथा सूचना उपलब्ध गराई पूर्ण सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यदि कुनै कमजोरी देखिएमा सुधारात्मक कदम चाल्ने र कानुनअनुसार जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, सुशासन, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासलाई अझ सुदृढ बनाउन आन्तरिक नियन्त्रण प्रणाली सुधार गरिने उल्लेख गरिएको छ।
जगदम्बा होल्डिङ्गसले औद्योगिक लगानी, रोजगारी सिर्जना र राजस्व योगदानमार्फत देशको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको दाबी गर्दै हालको परिस्थितिमा सरोकारवालाको हित संरक्षणमा ध्यान दिइरहेको जनाएको छ।





















प्रतिक्रिया