Logo

प्रमुख समाचार

अर्थमन्त्रीको प्रतिबद्धताले गरेन काम, एकपछि अर्को व्यवसायी पक्राउले त्रासमा निजी क्षेत्र



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेपछि निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको उल्टो संकेत देखिएको भन्दै उद्योगी–व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको प्रारम्भिक भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ पहिले सुन्ने र आवश्यक परे मात्र कारबाही गर्ने नीति अपनाइने बताएका थिए।

महासंघले पनि अघिल्ला सरकारहरूले आरोप लाग्ने बित्तिकै व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्ति बढाएको भन्दै अनुसन्धानपछि मात्र दोषी ठहरिए कारबाही गर्नुपर्ने सुझाव दिएको थियो।

तर पछिल्ला घटनाक्रमले उक्त प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको संकेत गरेको निजी क्षेत्रको गुनासो छ। महासंघका एक पदाधिकारीका अनुसार सुरुवाती आश्वासनपछि निजी क्षेत्र केही ढुक्क देखिए पनि हालैका पक्राउहरूले पुनः त्रास बढाएको छ।

बिहीबार महासंघका पूर्वअध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका प्रबन्ध निर्देशक शेखर गोल्छाको पक्राउपछि निजी क्षेत्र थप सशंकित बनेको छ। अर्थतन्त्र सुस्ताइरहेको समयमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने अवस्थामा उल्टै धरपकड बढ्नुले रोजगारी सिर्जनामा समेत नकारात्मक असर पर्ने उद्योगीहरूको भनाइ छ।

एक उद्योगीका अनुसार कुनै पनि अनियमिततामा केवल व्यवसायी मात्र नभई सरकारी कर्मचारी र राजनीतिक नेतृत्वको समेत संलग्नता हुनसक्ने भएकाले एकतर्फी रूपमा व्यवसायीलाई दोषी देखाएर कारबाही गर्नु उचित हुँदैन। यस्तो प्रवृत्तिले लगानीको वातावरण नै बिग्रिने उनीहरूको चेतावनी छ।

व्यवसायीहरूले अनुसन्धान र जरिवानाबाट समाधान हुनसक्ने विषयमा समेत पक्राउलाई प्राथमिकता दिनु लोकप्रियतामुखी कदम भएको आरोप लगाएका छन्। यसले समग्र व्यवसायिक वातावरणमा नकारात्मक सन्देश प्रवाह भएको उनीहरूको भनाइ छ।

यदि यस्तै अवस्था जारी रहे दोस्रो र तेस्रो पुस्ताका व्यवसायीहरू नेपालमा लगानी गर्न र बस्न इच्छुक नहुने सम्भावना बढ्ने उनीहरूको चिन्ता छ।

यसअघि पनि शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरी दुई दिनपछि रिहा गरिएको थियो। त्यस्तै, सोही समूहका शुलभ अग्रवाल र साझेदार दिपक भट्टलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार २२:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।