काठमाडौ ।पश्चिम एसियामा बढ्दो तनावपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वका कारण उत्पन्न अस्थिरतापछि वैदेशिक रोजगारी तथा अन्य कामका सिलसिलामा सो क्षेत्रमा रहेका नेपालीहरू घर फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३० हजारभन्दा बढी नेपाली फर्किसकेका छन्, जसमध्ये करिब २१ हजार जना कतारबाट आएका हुन्।
मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार धेरैजसो नागरिक तत्कालीन परिस्थितिका कारण वा बिदामा स्वदेश फर्किएका हुन्।
द्वन्द्वपछि मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८ सय १९ नेपालीले आफ्नो अवस्थाबारे विवरण दर्ता गराएका छन्।
यसैबीच, इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ। उनलाई चाँडै रिहा गराउने अपेक्षा गरिएको छ।
इरानमै कार्यरत १० नेपालीमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेका छन् भने बाँकी आठ जना हाल सुरक्षित रहेको महसुस गर्दै त्यहीँ बसिरहेका छन्।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आपतकालीन प्रतिकार्य समूह सक्रिय रहेको बताए।
त्यसैगरी, प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको र त्यसको प्रारम्भिक तयारी अघि बढाइएको जानकारी दिए।
राहदानी वितरण पनि हाल सहज रूपमा भइरहेको जनाउँदै उनले घरमै पुगेर राहदानी वितरण गर्ने व्यवस्था मिलाउन हुलाक विभागसँग समन्वय भइरहेको उल्लेख गरे।




















प्रतिक्रिया