Logo

राजनीति

‘आफू होइन देश भनौं, हामी सुध्रिए मात्र देश सुध्रिन्छ’



नेपाल रिपब्लिक मिडिया को स्थापना दिवसका अवसरमा आयोजित ‘नागरिक नायक’ घोषणा कार्यक्रममा बोल्दै कार्कीले देश सुधारको आधार व्यक्तिगत आचरण र चरित्र सुधारबाटै सुरु हुनेमा जोड दिइन्।

उनले नेपाली समाजमा ‘मै खाऊँ, मै लाऊँ’ भन्ने स्वार्थी प्रवृत्ति गहिरो रूपमा जरा गाडेको टिप्पणी गर्दै यही कारणले देश पछाडि परेको उल्लेख गरिन्। कविशिरोमणि लेखनाथ पौड्याल को कवितांश स्मरण गर्दै उनले अहिलेको समाजमा त्यही मानसिकता झल्किएको बताइन्।

कार्कीका अनुसार, राम्रो काम गर्न खोज्नेहरूलाई प्रोत्साहन गर्नुको सट्टा मुद्दा हाल्ने, चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्तिले विकासमा अवरोध सिर्जना गरेको छ। उनले समाजमा व्यक्तिवादी चिन्तन हावी हुँदा सामूहिक हित ओझेलमा परेको बताइन्।

‘हामी समग्र देशको विकासभन्दा व्यक्तिगत स्वार्थतर्फ बढी केन्द्रित छौं,’ उनले भनिन्, ‘छिटो परिणामको अपेक्षा गर्ने तर परिश्रम नगर्ने र सहकार्यमा नलाग्ने हाम्रो कमजोरी हो।’

उनले यही प्रवृत्ति राजनीतिमा समेत देखिएको उल्लेख गर्दै निर्वाचनपछि सत्तामा पुगेकाहरूले राज्यलाई सम्पूर्ण नागरिकको नभई आफ्ना कार्यकर्ता र आसेपासेको हितमा सीमित गर्ने प्रवृत्ति घातक भएको बताइन्।

देश निर्माणका लागि नेतृत्व र नागरिक दुवैले आत्मालोचना गर्दै आफूलाई सुधार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले ‘आलोचना मात्र होइन, काम गर्ने संस्कार विकास गर्नुपर्ने’मा जोड दिइन्। ‘जबसम्म हामी आफैं सुध्रिँदैनौं, तबसम्म देश सुध्रिँदैन,’ उनले भनिन्।

कार्यक्रममा सञ्चालक सम्वृद्धि ज्ञवालीसँगको संवादका क्रममा कार्कीले मुलुकको वर्तमान अवस्थालाई सुधार्न हरेक व्यक्तिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १९:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।