काठमाडौं । काठमाडौँ उपत्यकाभित्र बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने दोस्रो चरणको अभियान शुक्रबारदेखि सुरु गरिने भएको छ।
सहरी विकासमन्त्री सुनील लम्साल का अनुसार पहिलो चरणअन्तर्गत थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले अब दोस्रो चरण कार्यान्वयनमा ल्याउन लागिएको हो।
यसअघि बिहीबार सहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायबीच संयुक्त बैठक बसेर आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालिएको थियो।
मन्त्रालयका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई व्यवस्थित रूपमा स्थानान्तरण गर्न बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला पुर्याइनेछ।
रंगशालामा तीन सहायता कक्ष सञ्चालन गरिने छन्। पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन गरिनेछ भने दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फाराम भर्ने र सामाजिक विवरण संकलन गरिनेछ। तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीले डिजिटल तथ्यांक संकलन गर्नेछ।
मन्त्रालयले घरबाट तत्काल लैजान नसकिने सामान—जस्तै दराज, टेबुल र खाट—को भण्डारण तथा सुरक्षामा सुरक्षा निकाय परिचालन गर्ने जनाएको छ। आश्रय व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था मिलाइएको छ।
यसका साथै प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा स्वास्थ्य सेवा, मानवीय सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ। संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फर्काइने मन्त्रालयले जनाएको छ।
पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ। नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी दोषी पाइए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले बुधबार सूचना जारी गर्दै नदी किनारका बस्ती तथा सार्वजनिक, पर्ति वा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा शुक्रबार साँझसम्म खाली गर्न आग्रह गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल का अनुसार उच्च जोखिममा रहेका ती बस्ती वैशाख १८ गते बिहान ७ बजेदेखि खाली गराउने कार्य सुरु गरिनेछ।





















प्रतिक्रिया