Logo

राजनीति

समृद्धिका लागि युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक : प्रदेश प्रमुख जोशी



सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताएका छन् । दोस्रो कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीको कर्णाली प्राकृतिक सम्पदा र अपार सम्भावनाको प्रदेश भएको बताए ।

‘कर्णालीमा अपार सम्भावना छ,’ उनले भने, ‘केह पनि भएको छैन भन्ने भाष्य निर्माण गरी कर्णालीलाई गरिब देखाइएको छ ।’
युवाहरूले उत्पादनमूलक क्रियाकलापबाट कर्णालीमै रोजगारी सिर्जना गरी समृद्ध कर्णालीको लक्ष्य साकार पार्न सकिने उनको भनाई छ ।

‘कर्णालीमा रोजगारीका थुप्रै सम्भावनाहरू छन्, अग्र्यानिक कृषि उत्पादन र पर्यटन प्रबद्र्धनका कार्यक्रमले कर्णालीको आर्थिक विकास गर्न सकिन्छ’ उनले भने, ‘कर्णालीलाई गरिब प्रदेश होइन समृद्ध प्रदेशको रूपमा चिनाउन सकिन्छ ।’

कर्णालीको बजेट खर्च कम भएको प्रति प्रदेश प्रमुखले चिन्ता व्यक्त गरे । कर्णालीको लागि विनियोजित बजेट खर्च नभई बर्सेनी फ्रिज हुँदा त्यसले पनि कर्णालीको अपेक्षाकृत विकास हुन नसकेको बताए ।

‘कर्णालीमा पर्याप्त स्रोत भए पनि त्यसको परिचालन हुन सकिरहेको छैन’ उनले भने, ‘खर्च गर्ने क्षमता बढाएर विकासका ढोकाहरू खोल्नु पर्छ ।’

कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आइतबारसम्म चल्ने छ ।

कर्णालीका १० वटै जिल्ला तथा स्थानीय तहबाट प्रतिनिधिमूलक रूपमा युवाहरूको सहभागिता सुनिश्चित गरिएको उनले जानकारी दिए । कार्यक्रमलाई बहु आयामिक बनाउन विभिन्न गतिविधिहरू समावेश गरिएको छ ।

महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, यूथ प्लेटफर्ममार्फत अन्तरक्रिया, पुस्तक वार्ता, देउडा खेल, सांगीतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिने छन् । महोत्सवले युवाहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै सांस्कृतिक पहिचानलाई पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम युवाहरूको साझा प्लेटफर्मका रूपमा विकास गर्दै कर्णालीका सबै जिल्ला तथा स्थानीय तहका युवालाई सहभागी गराउने लक्ष्य राखिएको सल्लाहकार भुपेन्द्रजंग शाहीले बताए ।

कर्णालीको समृद्धिका लागि राज्यको दायित्व, जनप्रतिनिधि र युवाबिचको सम्बन्ध, मिडियामा कर्णालीको छवि, सामाजिक अभियान, समाज रूपान्तरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास लगायतका विषयमा पनि विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।

महोत्सव मार्फत युवालाई नीति निर्माण, विकास प्रक्रिया र सामाजिक नेतृत्वमा सहभागी गराउने उद्देश्य लिइएको छ । अघिल्लो वर्ष सम्पन्न पहिलो संस्करणबाट प्राप्त अनुभव, सिकाइ र सफलतालाई आधार मानेर यस वर्षको दोस्रो संस्करणलाई अझ प्रभावकारी, सहभागितामूलक र व्यापक बनाइने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार कर्णालीका युवालाई एउटै मञ्चमा ल्याएर उनीहरूको आवाज, विचार र क्षमता प्रस्तुत गर्ने अवसर दिनु नै महोत्सवको मुख्य उद्देश्य हो। यसले भविष्यमा कर्णाली प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा युवाको भूमिका अझ सशक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

महोत्सवमा कर्णाली प्रदेशमा विभिन्न क्षेत्रमार्फत उल्लेखनीय योगदान पु¥याएका १० जना युवालाई यस वर्ष ‘कर्णाली यूथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ ।

कर्णाली युवा महोत्सवको दोस्रो संस्करणमा कर्णालीमा राजनीतिबाहेक शिक्षा, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद, साहित्य, संस्कृति, नवप्रवर्तन तथा अन्य सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेका र समाजमा सकारात्मक प्रभाव पारेका युवालाई ‘कर्णाली यूथ आइकन अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि महोत्सव आयोजना गरिएको महात्सवका संयोजक विनोद कुमार शाहीले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।