काठमाडौं ।महोत्तरीमा पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको युवरानी एग्रो इन्डस्ट्रिजले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आवश्यक पर्ने क्रेडिट रेटिङ प्रक्रिया पूरा गरिसकेको जनाएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘इश्युअर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
महोत्तरीको गौशाला–१ मा अवस्थित उद्योगले गाईवस्तु, कुखुरा तथा माछाका लागि दाना उत्पादन गर्दै आएको छ। यसको वार्षिक उत्पादन क्षमता करिब ३० हजार मेट्रिक टन रहेको छ।
दाना उत्पादनसँगै कम्पनीले माछापालन, गाईवस्तु तथा कुखुरा पालन र ह्याचरी सञ्चालन गर्दै आएको छ। कुखुराका चल्ला उत्पादन क्षमता वार्षिक ४० देखि ५० हजारसम्म रहेको कम्पनीले जनाएको छ।
आईपीओबाट संकलित रकम कम्पनीले आधुनिक वधशाला र कोल्ड स्टोरेज निर्माणमा लगानी गर्ने योजना बनाएको छ। यसमार्फत प्रशोधित मासु व्यवसायमा प्रवेश गर्ने लक्ष्य कम्पनीको छ। परियोजना सम्पन्न भएपछि आम्दानी र नाफामा वृद्धि हुने अपेक्षा गरिएको छ।
पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार तीव्र रूपमा विस्तार भएको देखिन्छ। आर्थिक वर्ष २०२१ मा ५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२५ सम्म आइपुग्दा ६५ करोड १० लाख रुपैयाँ पुर्याएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ।
कम्पनीको व्यापार औसत ८५ प्रतिशत दरले बढ्दै गएको छ। सञ्चालन नाफा मार्जिन १३.५२ प्रतिशत र खुद नाफा मार्जिन करिब ५ प्रतिशत रहेको छ। प्रवर्द्धकबाट १५ करोड रुपैयाँ थप लगानी आएपछि कम्पनीको वित्तीय अवस्था सुदृढ भएको बताइएको छ।
कम्पनीको नेतृत्व अध्यक्ष सुशीलाकुमारी यादव र प्रबन्ध निर्देशक मोहम्मद कमारे आलमले गरिरहेका छन्। सुशीलाकुमारी यादवसँग कृषि तथा माछापालन क्षेत्रमा अनुभव रहेको छ। कम्पनीमा उनको ६९.४२ प्रतिशत र रजनीश कुमार यादवको १३.८८ प्रतिशत सेयर स्वामित्व रहेको छ।
सरकारले सन् २०२४ देखि २०३४ सम्मलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको र तराई क्षेत्रमा कृषि पूर्वाधार विस्तारका योजना अघि बढेकाले कम्पनीको बजार विस्तारको सम्भावना रहेको विश्लेषण गरिएको छ।
तर, कृषि तथा पोल्ट्री क्षेत्रमा देखिने रोगको जोखिम, जलवायु परिवर्तन र कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले नाफामा असर पार्न सक्ने चुनौती कायमै छन्। प्रस्तावित वधशालाको सफल कार्यान्वयन र बजार व्यवस्थापनले कम्पनीको आगामी प्रदर्शन निर्धारण गर्ने रेटिङ प्रतिवेदनमा उल्लेख छ।





















प्रतिक्रिया