काठमाडौँ । देशका विभिन्न जिल्लामा शनिबार भएका आगलागीका घटनामा करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कञ्चनपुर र म्याग्दीमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा ठूलो क्षति पुगेको हो।
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलमा वकिल यादवको गोठमा राति आगो लाग्दा गोठ पूर्ण रूपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यस्तै, पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ गदियानी टोलमा मुस्तकिम मियाँ मन्सुरीको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ।
दार्चुलाको महाकाली नगरपालिका–४ मा जसु लुहारको कस्मेटिक पसल र सँगै रहेको चियानास्ता पसलमा आगलागी हुँदा करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–१ र म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियामा विद्युत् चुहावटका कारण आगलागी हुँदा क्रमशः ६ लाख र २ लाख रुपैयाँ बराबरका सामान जलेर नष्ट भएका छन्।





















प्रतिक्रिया