काठमाडौं ।महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभूवन आर्मी क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
१० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपबिजेतामै चित्त बुझाएको आर्मीले भने नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।
आईतबारको खेलमा पुलिसले आर्मीबिरुद्ध संघर्षपूर्ण जित निकाल्यो । पहिलो हाफबाटै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई अन्तिमसम्म डटेर सामना गर्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको २७ औं मिनेटमा आर्मी दश खेलाडीमा सिमित भएको थियो । पुलिसकी निर्मला विकलाई आर्मीकी डिफेन्डर विमला विकले डि एरियामा लडाएपछि रेफ्री रातो कार्ड देखाउँदै बाहिर पठाएकी थिईन् ।
त्यसपछिको खेलमा आर्मी रक्षात्मक बनेको थियो । आर्मीबिरुद्ध आक्रामक बनेको पुलिसले ६३ औं मिनेटमा गोल गर्ने उत्कृष्ट अवसर खेर फाल्यो । रेखा पौडेलले गरेको प्रहारमा आर्मीकी गोलकिपर कोपिला खड्का बाधक बनिन् ।
६९ औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो भने त्यसको ६ मिनेट पछिको ७५ औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८० औं मिनेटमा अनुस्काको प्रहारमा आर्मीकी गोलकिपर कोपिला बाधक बनिन् ।
१० खेलाडीमा सीमित भए पनि आर्मीले केहि गोल अवसर निकालेको थियो । तर सदूपयोग गर्न नसक्दा ऐतिहासिक जितसहित उपाधि जित्ने मौका गुमायो । खेलको ३७ औं मिनेटमा आर्मीकी हिमा चौधरीले प्रहार गरेको बललाई गोललाईन नजिकबाट विपक्षी खेलाडी समीक्षा घिमिरेले बचाईन् ।
८१ औं मिनेटमा चन्द्रा भण्डारीको प्रहारमा उषा बाधक बनिन् । ८८ औं मिनेटमा आर्मीले गोल गर्ने स्वर्ण अवसर गुमायो । चन्द्राको पासमा हिमाको प्रहार क्रसबार भन्दा थोरै माथिबाट बाहिरियो ।
आईतबारको खेलमा नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन् ।
यसैबीच, प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३० हजारसहित ट्रफी जित्न सफल भईन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा पुलिसकी उषा नाथ, प्रतियोगिता अवधीभरमा ५ गोल गरेकी रेखा पौडेल सर्वाधिक गोलकर्ता र अनुसासित टिमको पुरस्कार आयोजक आरएस पोखरा फुटबल क्लवले प्राप्त गर्यो । यो समाचार नागरिक दैनिकमा छ ।





















प्रतिक्रिया