काठमाडौं । जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
उनले प्रधानमन्त्रीले सुकुम्बासीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन स्पष्ट नभएको बताए । चुनावअघि डोजर प्रयोगका क्रममा विरोध जनाउँदै छाती थाप्नेहरू अहिले खै त भन्दै प्रश्न उठाए ।
उनले भने, ‘सुकुम्बासीलाई प्रधानमन्त्रीले व्यवस्थापन गर्ने भनेका छन् तर कसरी व्यवस्थापन गर्छन् ? चुनाव अगाडि डोजर हान्दा छाती थाप्नेहरु पनि थिए, तर अहिले खै त छाति थाप्नेहरु ?’
ढुंगानाले हाल करिब ५० लाख नेपाली प्रभावित भएको दाबी गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्र जिम्मेवारी पूरा नहुने बताए ।
उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे । उनले प्रधानमन्त्रीका अभिव्यक्तिहरू स्वयम्ले लेख्ने हो वा अरू कसैले तयार गर्ने भन्ने विषयमा पनि प्रश्न उठाउँदै पारदर्शिताको आवश्यकता औंल्याए ।
उनले भने, ‘अहिले ५० लाख नेपाली जनतालाई उठिबास लागेको छ । तर प्रधानमन्त्रीले स्टाटस लेखेर मात्र हुन्छ ? के यो मजाक हो ? थोरै त लाज मान्नुस् । प्रत्यक्ष आएर बोलिदिनुस् न । बोलेपछि बालेन जी ले बोले है भन्ने त हुन्छ ।
आज पनि सामाजिक सञ्जालमा स्टाटस नै लेख्ने, त्यो अब कस्ले लेखिदिन्छ, तपाईं आफैंले हो की होइन ?’
त्यसैगरी उनले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनबारे स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् । उनले सुकुम्बासीहरु दुई छाक खान पाउँछन् की पाउँदैनन् ? पाउँछन् भने कसरी पाउँछन् र ती ५० लाखले टाउकोमाथि छत र रोजगारी पाउँछन् की पाउँदैनन् भन्दै प्रश्न गरे ।
उनले भने, ‘सुकुम्बासीहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ सुरुमा ? डोजर चलाउन आजैबाट छोडदिनुहोस् । कति बजेट छुट्याउनु हुन्छ ? कहाँ जग्गा दिनुहुन्छ ? अथवा सुकुम्बासीलाई कहाँ राख्नु हुन्छ ? सुत्केरी महिलाले हेल्थ केयर पाउँछ की पाउँदैन ? स्वास्थ्य सेवा पाउँछ की पाउँदैन ?
ती बच्चाहरुले शिक्षा पाउँछन् की पाउँदैनन् ? दुई छाक खान पाउँछन् की पाउँदैनन् ? पाउँछन् भने कसरी पाउँछन् र ती ५० लाखहरुले टाउकोमाथि छत र रोजगारी पाउँछन् की पाउँदैनन् ?’
ढुंगानाले सुकुम्बासी समस्या समाधान राज्यको दायित्व भएको उल्लेख गर्दै आवश्यक तयारी र विकल्पबिना डोजर प्रयोग गर्न नहुने धारणा व्यक्त गरे । ‘यो सबै राज्यकै जिम्मेवारी हो । ड्यामडुम डोजर चलाउने हो भने यी कुरा सरकारले नगरिकन सुकुम्बासी बस्तीमा डोजर चलाउन पाउनु हुँदैन,’ उनले भने ।





















प्रतिक्रिया