Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन गिरावट



न्युयोर्क ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित शान्ति सम्झौताबारे संकेत गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। मध्यपूर्वबाट तेल आपूर्ति पुनः सहज हुने अपेक्षाले बुधबार बजारमा दबाब देखिएको हो।

जुलाई डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.५२ डलर (१.३८ प्रतिशत) घटेर १०८.३५ डलरमा झरेको छ। अघिल्लो कारोबारमा यो करिब ४ प्रतिशतले घटेको थियो।

त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) को जुन मूल्य पनि १.५० डलर (१.४७ प्रतिशत) घटेर १००.७७ डलर प्रति ब्यारेलमा सीमित भएको छ, जुन अघिल्लो दिन ३.९ प्रतिशतले घटेको थियो।

मंगलबार साँझ राष्ट्रपति ट्रम्पलेस्ट्रेट अफ होर्मुजमा रोकिएका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका थिए।

इरानसँग विस्तृत सम्झौताका लागि प्रगति भएको दाबी गर्दै उनले यस्तो निर्णय लिएका हुन्, यद्यपि सम्झौताबारे थप विवरण सार्वजनिक गरिएको छैन।

तेहरानबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन। तर, ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन्।

विश्वको करिब पाँचौँ हिस्सा तेल तथा प्राकृतिक ग्यास आपूर्ति हुने उक्त जलमार्ग गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि अवरुद्धजस्तै बनेको थियो।

आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य तीव्र रूपमा बढेको थियो र गत साता ब्रेन्ट क्रुड सन् २०२२ मार्चयताकै उच्च विन्दुमा पुगेको थियो।

सामाजिक सञ्जालमार्फत ट्रम्पले भनेका छन्, “नाकाबन्दी यथावत् रहने सर्तमा सम्झौता टुंग्याउन सकिन्छ कि भनेर हेर्न ‘प्रोजेक्ट फ्रिडम’ छोटो समयका लागि रोकेका छौँ।”

यो घोषणा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फसेका ट्याङ्करहरू उद्धारबारे जानकारी दिएको केही घण्टापछि आएको हो। यसअघि सोमबार अमेरिकी सेनाले दुई व्यापारिक जहाज सुरक्षित बाहिर निकाल्दा इरानका साना डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको दाबी गरेको थियो।

जलमार्ग बन्द हुँदा विश्वभरका रिफाइनरीहरूले मौज्दात प्रयोग गर्नुपरेकाले भण्डारणमा उल्लेख्य गिरावट आएको छ। अमेरिकी पेट्रोलियम इन्स्टिच्युटका अनुसार मे १ मा समाप्त हप्तामा अमेरिकाको कच्चा तेल मौज्दात ८१ लाख ब्यारेलले घटेको छ। पेट्रोल मौज्दात ६१ लाख ब्यारेल र अन्य इन्धन ४६ लाख ब्यारेलले घटेको छ।

यद्यपि ट्रम्पको पछिल्लो कूटनीतिक पहलले बजारलाई केही राहत दिएको देखिए पनि स्थायी शान्ति सम्झौता नहुँदासम्म तेल बजारमा उतारचढाव जारी रहने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ०७:५५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।