Logo

समाचार

एमआरपी लफडा सल्टिएपछि ९ दिनदेखि भन्सारमा रोखिएका मालवाहक ट्रक भित्रिन थाले



काठमाडौं। विगत ९ दिनदेखि भन्सार विन्दुमा रोकिएका सयौँ मालवाहक ट्रकहरू भित्रिन थालेका छन्।

सरकारले आजदेखि आयातित मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल नभएका तयारी मालवस्तुको आयातमा जाँच पासको हकमा देखिएको अवरोध हटाएपछि मालवाहक ट्रकहरु भित्रिन थालेका हुन्।

सरकारले वैशाख १५ गतेदेखि एमआरपी बिनाका वस्तु आयातमा कडाइ गरेपछि देशभरका नाकाहरूमा हजारौँ बढी मालवाहक ट्रकहरू रोकिएका थिए।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पालका अनुसार आज सरकारले एमआरपी अवरोध हटाए सँगै आजदेखि आयातित वस्तुमा केही हदसम्ममा सहजता भएको छ।

व्यापारीहरूलाई भन्सारमा एउटा फर्म भर्न लगाएर भन्सारमा रोखिएका मालवाहक ट्रकहरु भित्रिन थालिसकेको वरिष्ठ उपाध्यक्ष पालले बताए।

भन्सारबाटै आयात गर्दा गोदामबाट माल वस्तु निकाल्दा लेबल लगाएर निकाल्ने भनेर फर्म भरेर मालवाहक वस्तु भित्रिरहेको उनको भनाइ छ।

अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपी लेबल नभएका वस्तुहरूको हकमा स्वघोषणा गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपछि मात्र माल वस्तु निकासी गर्न पाउनेछन्।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार आजदेखि एमआरपी खुल्ला गरेसँगै नाकामा रोखिएका मालवाहक सवारी साधनहरू भित्रिन थालि सकेको छ।

विभागले सबै भन्सार कार्यालयलाई एमआरपी अवरोध हटाएको परिपत्र गरिसकिएको बर्तौलाले बताए।

विभागले तयार पारेको प्रतिबद्धता पत्रको नमुना अनुसार आयातकर्ताले भन्सार कार्यालयलाई सम्बोधन गर्दै तीन वटा मुख्य बुँदामा प्रतिबद्धता जनाउनुपर्नेछ।

जसमा औद्योगिक, नाशवान् वा मेसिनरी प्रकृतिका वस्तुहरूमा भन्सार जाँच पासको समयमा भौतिक रूपमा एमआरपी लेबल उपलब्ध नभए तापनि आयातकर्ताले त्यसको मूल्य स्वघोषणा गर्नुपर्नेछ।

यस्तै, भन्सार विन्दुबाट छुटाएर लगेपछि बजारमा बिक्री वितरण गर्नु अगावै अनिवार्य रूपमा एमआरपी लेबल लगाउने प्रतिबद्धता गर्नुपर्नेछ र प्रचलित कानुन र निर्देशन बमोजिम लेबल नलगाई बिक्री गरेको पाइएमा कानुनी कारबाही भोग्न तयार हुनुपर्नेछ।

आयातकर्ताले मालवस्तुको नाम, ब्रान्ड, मोडल, परिमाण, विजक मूल्य र घोषित एमआरपीको विवरण समेत सोही पत्रमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार १९:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।