काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ ।
उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् ।
पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एक्ओइसले जनाएअनुसार यो प्रगति द्वन्द्व सुरु भएयताकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
यद्यपि अन्तिम सहमति भने अझै भइसकेको छैन । प्रस्तावित समझदारीपत्र १४ बुँदे प्रारम्भिक दस्तावेजका रूपमा रहेको र यसले तत्काल युद्धविराम लागू गर्दै ३० दिने वार्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको बताइएको छ । त्यस अवधिमा व्यापक समझदारीका विषयमा छलफल हुने जनाइएको छ ।
सम्झौताअन्तर्गत इरानले अल्पकालीन रूपमा युरेनियम संवद्र्धन गतिविधिमा रोक लगाउनेछ भने त्यसको बदलामा अमेरिकाले केही प्रतिबन्ध हटाउने र इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रिया अघि बढाउनेछ ।
साथै दुवै देशले होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य तनाव कम गर्ने दिशामा पनि काम गर्ने जनाइएको छ । रिपोर्टमा धेरै प्रावधानहरू आगामी वार्ताको नतिजामा निर्भर रहने उल्लेख गर्दै प्रक्रिया अझै जोखिमपूर्ण रहेको बताइएको छ ।
असफलता भए पुनः सैन्य द्वन्द्व चर्किन सक्ने वा लामो समय अनिश्चितता कायम रहन सक्ने चेतावनी पनि दिइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै होर्मुज क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय पनि यही कूटनीतिक प्रगतिपछि लिएका हुन् ।
वार्ताको नेतृत्व अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरले गरिरहेका छन् । उनीहरूले तेहरानसँग प्रत्यक्ष तथा तेस्रो पक्षमार्फत संवाद जारी राखेको जनाइएको छ ।
यदि समझदारी औपचारिक रूपमा लागू भएमा यसले युद्ध अन्त्यको औपचारिक घोषणा गर्दै आगामी प्राविधिक वार्ताहरू जेनेभा वा अन्य तटस्थ स्थानमा सार्ने मार्ग प्रशस्त गर्ने बताइएको छ । एएनआई





















प्रतिक्रिया