काठमाडौं । गौशालास्थित जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कलाकार सीताराम कट्टेल र उनकी पत्नी कुन्जना घिमिरे सहित धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य कृष्ण घिमिरे विरुद्ध सार्वजनिक रूपमा ऋण असुली प्रक्रिया अघि बढाएको जनाएको छ ।
सहकारीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा लिइएको करिब ७० लाख रुपैयाँ ऋण तीन वर्ष बितिसक्दा पनि फिर्ता नभएकोले ऋण ऋण तुरुन्त फर्छ्यौट गर्न सार्वजनिक चेतावनी दिएको छ। ।
संस्थाले जारी गरेको विज्ञप्तिअनुसार रङ्गशाला निर्माणका बेला फाउन्डेसनको चेक बाउन्स भएर कालोसूचीमा पर्ने अवस्था आएपछि तत्कालीन समयमा अनुनय–विनयका आधारमा कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि छोटो अवधिको कर्जा प्रवाह गरिएको थियो । तर, उक्त ऋण हालसम्म नतिरेको सहकारीको दाबी छ ।
सहकारीका अनुसार हाल कृष्ण घिमिरे बेलायतमा रहेका छन् भने सम्पर्क गर्दा “भिनाजुसँग कुरा गर्नुस्” वा “महानगरले तिर्छ” भन्ने जवाफ दिने गरिएको उल्लेख छ ।
त्यस्तै, धुर्मुस–सुन्तली अमेरिका बसाइमा रहेको र यता सर्वसाधारण बचतकर्ताले भने रकम फिर्ता नपाउँदा समस्या झेलिरहेको संस्थाको भनाइ छ ।
विज्ञप्तिमा सहकारीले “रङ्गशालामा सबै पैसा डुब्यो” भन्ने प्रचारलाई भ्रामक दाबी गर्दै पहुँच भएका व्यक्तिहरूले ऋण नतिर्दा बचतकर्ताको रकम फिर्ता गर्न कठिन भएको उल्लेख गरेको छ ।
“कलाकारलाई देशको गहना मानेर सम्मान गर्न खोजिएको हो । तर पटक–पटकको ताकेता बेवास्ता भएपछि सामाजिक दबाब सिर्जना गर्न बाध्य भयौं,” विज्ञप्तिमा भनिएको छ ।
सहकारीले ऋण असुली टोलीमार्फत कानुनी प्रक्रिया अघि बढाइसकेको जनाउँदै जेठ महिनाभित्र सम्पूर्ण हिसाब मिलान नगरे थप कडा कदम चालिने चेतावनी दिएको छ ।
साथै, शेयर सदस्यहरूलाई संयमित रहँदै सम्बन्धित व्यक्तिहरूका सामाजिक सञ्जालमार्फत सकारात्मक दबाब सिर्जना गर्न आग्रह गरिएको छ ।





















प्रतिक्रिया