रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने रौतहटबासीको वर्षौँदेखिको सास्ती अब अन्त्य भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको समय र खर्च जोगाउने उद्देश्यले आजदेखि ’होम डेलिभरी’ सरहको नयाँ विकल्प खुला गरेको हो।
नयाँ नियमअनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीले अब दुईवटा विकल्प पाउनेछन् । राहदानी बनेर आएपछि आफैँ जिल्ला प्रशासन कार्यालय गएर बुझ्ने वा राहदानी सिधै आफ्नै घरको ठेगानामा हुलाकमार्फत प्राप्त गर्ने व्यवस्था भन्ने विकल्प रहने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताए ।
उनका अनुसार यदि कुनै सेवाग्राहीले आफ्नो राहदानी घरमै बसि–बसि प्राप्त गर्न चाहन्छन् भने उनले आवेदन दिने समयमै सामान्य प्रक्रिया पुरा गर्नुपर्नेछ ।
यसका लागि सेवाग्राहीले ५५ रुपैयाँ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजातहरूसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यसरी आवेदन दिएका सेवाग्राहीको राहदानी विभागबाट प्रिन्ट भएर जिल्लामा आउनेबित्तिकै जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा पठाइनेछ ।
यस कदमले विशेषगरी ग्रामीण भेगका बासिन्दाहरूलाई ठुलो राहत पुग्ने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
पासपोर्ट लिनकै लागि सदरमुकाम गौर आउनुपर्ने समय जोगिनेछ । चन्द्रपुरका युवा अभिशेक कोइरालाका अनुसार यो व्यवस्था लागु भएपछि यातायात र होटलमा हुने अनावश्यक खर्च कटौती हुन्छ ।
प्रशासन कार्यालयमा पासपोर्ट लिन आउनेहरूको लामो लाइन कम हुने उनको भनाइ छ । आधुनिक समयमा ओझेलमा पर्दै गएको हुलाक सेवाको भूमिका र प्रभावकारिता फेरि बढ्ने उनले बताए ।
प्रशासनले यो सेवालाई पारदर्शी र छिटो बनाउन हुलाक कार्यालयसँग समन्वय गरिसकेको छ । राहदानी हराउने वा ढिला हुने जोखिमलाई न्यून गर्न विशेष निगरानी राखिने समेत जनाइएको छ।
विगतमा राहदानी आयो कि आएन भनेर बुझ्न समेत टाढा–टाढाबाट प्रशासन धाउनुपर्ने बाध्यता रहेका रौतहटबासीका लागि यो निर्णय एक महत्वपूर्ण प्रशासनिक सुधारको रूपमा हेरिएको छ ।





















प्रतिक्रिया