काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार बजेट बनाउन व्यस्त रहेको बताएका छन्।
पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उनले बजेटलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिएका हुन्।
सभापति लामिछानेले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढाउने गरी काम गरिने धारणा राखे। उनले सरकारले आमजनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैँ अपेक्षित रहेको बताए।
सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे।
“सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने,“कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो।
नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ। हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ।”
सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे।
उनले विगतमा अन्य राजनीतिक दलले अनवरत सङ्घर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए। सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए।





















प्रतिक्रिया