काठमाडौं ।क्यानका सचिव पारस खड्काले नेपाल क्रिकेट एशोसिएसन (क्यान) र नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबलाई लिएर नियोजित रूपमा मिडियाबाजी गरिएको बताएका छन् ।
विराटनगरमा आयोजित क्यानको साधारणसभामा सहभागी हुन आएका सचिव खड्काले अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति बढेको टिप्पणी गरे ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिसाब–किताब हेर्न चाहने सदस्यलाई क्यान कार्यालयमै आएर आवश्यक कागजात अध्ययन गर्न आग्रह गरिएको बताए । संस्थाका गोप्य दस्तावेज इमेलमार्फत जथाभाबी पठाउने व्यवस्था नभएको उनको भनाइ थियो ।
खड्काले क्यानले आवश्यक सबै कागजात सम्बन्धित निकायमा बुझाइसकेको दाबी गरे । उनले क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप नरहेको र संस्था एकढिक्का भएर अघि बढिरहेको बताए । एनपीएलले नेपाली क्रिकेटमा व्यावसायिकता भित्र्याएको उल्लेख गर्दै त्यसको सबैले कदर गर्नुपर्ने उनको भनाइ थियो ।
उनले तल्लो मूलपानी क्रिकेट मैदानलाई क्यानको स्वामित्वमा ल्याउने पहल भइरहेको जानकारी दिए । विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।
नेपाल क्रिकेटको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य अर्थात् टेस्ट राष्ट्र बन्ने रहेको खड्काले स्पष्ट पारे ।
दुई दिनसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन हिक्मतकुमार कार्की ले गरेका थिए । सभामा क्रिकेटसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
पछिल्लो १० महिनादेखि नवीकरण नगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषय पनि साधारणसभाको प्रमुख एजेन्डाका रूपमा उठ्ने अपेक्षा गरिएको छ । क्यानले पछिल्लो साधारणसभा २०८१ असोजमा सम्पन्न गरेको थियो ।





















प्रतिक्रिया