काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–१ बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ । प्रहरीको विज्ञप्तिमा भने उनको नाम ‘मुस्तकिम मिँया’ उल्लेख छ । तर ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एकै व्यक्ति रहेको स्रोतले बतायो ।
सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले मिँयामाथि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

मिँयाबाट पीडित भएको भन्दै प्रहरीमा दिइएको एक किटानी जाहेरीमा एकान्त ठाउँमा बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप छ ।
खोजतलासको क्रममा राजविराज नगरपालिका वडा नम्बर ८ बाट मिँयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





















प्रतिक्रिया