काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गर्दै हालसम्म १ हजार ५ सय ४३ सेवा प्रदायक उक्त प्रणालीमा आबद्ध भएको जनाएको छ। विभागका अनुसार प्रणालीमा हाल ९४ वटा होटल आबद्ध भएका छन्।
विभागले आयोजित छलफल कार्यक्रममा प्रणालीमार्फत करिब १ लाख २५ हजार विदेशी यात्रुको अभिलेख संकलन भइसकेको जानकारी दिएको हो।
यो प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटलमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू गरिएको विभागले जनाएको छ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार विदेशी नागरिकको गतिविधि निगरानी, राष्ट्रिय सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
उनले सबै होटल संघ तथा एसोसिएसनसँग समन्वय हुन नसक्दा होटलहरूको सहभागिता अपेक्षाअनुसार बढ्न नसकेको बताए। प्रणालीबारे पर्याप्त सचेतनाको अभाव र साना होटलहरू प्रविधिमा आबद्ध हुन नसक्नु पनि चुनौतीका रूपमा देखिएको उनको भनाइ थियो।
छलफलमा होटलहरूको अनुगमन गर्ने पर्यटन विभाग तथा विदेशी नागरिकलाई सेवा दिने निकायका अनुगमनकारी संस्थाले निगरानीलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन्।
“होटेललगायत अन्य सेवा प्रदायकलाई प्रणालीमा आबद्ध गराउन विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ,” प्रवक्ता ढकालले भने, “यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले सबैलाई प्रणालीमा ल्याउन थप उपाय खोजिरहेका छौं।”
बैठकमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासंघ, पर्यटक प्रहरीलगायत निकायका प्रतिनिधिको सहभागिता थियो।
छलफलमा आन्तरिक राजस्व विभाग र पर्यटन विभागबाट होटललाई प्रदान गरिने सेवासँग प्रणालीलाई आबद्ध गर्ने तथा प्रणालीमा सूचीकृत होटलहरूको विवरण अध्यागमनको नेपाली पोर्टलमा राख्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
त्यसअनुसार विदेशी नागरिकले भिसा आवेदन दिने क्रममा नै होटल छनोट गर्न सक्ने व्यवस्था गर्ने तयारी भइरहेको विभागले जनाएको छ।





















प्रतिक्रिया