Logo

अर्थ

नेपाल टेलिककाे नाफा ६ अर्ब २७ करोड



काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ९.८५ प्रतिशत अर्थात् ५६ करोड २४ लाख रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ थियो ।

त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशतले वृद्धि हुँदै २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कर, ब्याज तथा ह्रासकट्टी अघिको मुनाफामा पनि १.३२ प्रतिशत अर्थात् १८ करोड ८० लाख रुपैयाँले बढेर १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२.३ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी ९.९ प्रतिशतले बढेर हाल ४६.४७ रुपैयाँ कायम भएको छ ।

सञ्चालन आयअन्तर्गत जिएसएमतर्फको राजस्व गत वर्षको तुलनामा २.७६ प्रतिशत अर्थात् ५७ करोड ७४ लाख रुपैयाँले बढेको छ । त्यस्तै, कम्पनीको ह्रासकट्टी खर्च ८.४६ प्रतिशत अर्थात् ३८ करोड ६९ लाख रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १७:०६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।